जसपा नेतृ बबीले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल, प्रहरीले अघि बढायो अनुसन्धान

1.3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ ।

घटना वैशाख ११ गते सर्लाहीको मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी कार्यक्रममा भएको खुलेको छ । भिडिओमा बबी सिंह नाचिरहेको अवस्थामा एक राउन्ड हवाई फायर गरेपछि धुवाँ निस्किएको र त्यसपछि अर्का व्यक्तिले पेस्तोल समाएको दृश्य देखिन्छ ।

भिडियो भाइरल भएपछि सिंहले घटना भारतको सीतामढीमा भएको दाबी गरेकी थिइन् । तर प्रहरी अनुसन्धानले उक्त घटना सर्लाहीमै भएको पुष्टि गरेको छ । सिंहसँग सोधपुछपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट सो पेस्तोल बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद पेस्तोल नक्कली हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । बारुद पनि बरामद गरिएको छ भने पेस्तोललाई परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।

प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डा. सिंह सप्तरीको बोदे बरसाइन नगरपालिका–५ निवासी तथा जसपा नेपालकी उपाध्यक्ष हुन् । उनी राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी पनि हुन् ।