संविधान संशोधन गर्न कांग्रेस एमालेले चासो दिएनन्ः माधव नेपाल

98
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् ।

मे दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारका अरू देशमा सबैभन्दा ठूलो सरकारमा र दोस्रो ठूलो पाटी प्रतिपक्षमा बस्ने गरेको बताउँदै नेपालमा संसदका दुवै ठूला राजनीतिक दल सरकारमा बसेको जिकिर गरे ।

उनले संविधान संशोधन गर्ने भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा संविधान संशोधन नपरेको टिप्पणी गरे । उनले सरकारले २०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यसबाट पन्छिने काम गरेको जिकिर गरे । उनले देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन र समीक्षा गर्नुपर्ने आवश्यकता पर्ने भएपनि नेपालमा त्यो हुन नसकेको बताए । अध्यक्ष नेपालले संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन नसकेको धारणा राख्नुभयो । उनले संविधानमा लेखिएका जनताका हक तथा अधिकारलाई व्यवहारमा लागू गर्न चिन्तन र बहसको आवश्यकता महसुस नगरिएको उल्लेख गरे ।

अध्यक्ष नेपालले नेपालमा राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए । उनले इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउने कसैले कल्पना गरेको भए सपना नदेख्न आग्रह समेत गरे । केही दिनअघि राजसंस्थालाई फर्काउन केही मान्छेहरूले कोशिस गरेको बताउँदै उनीहरूले हिंसात्मक र आफूहरूको वास्तविक रूप देखाएको जिकिर गरे । उनले सोही दिन एकीकृत समाजवादी सहभागी समाजवादी मोर्चाले गरेको कार्यक्रम शालीन, प्रभावशाली र संस्कारी रहेको दाबी गर्दै त्यसले जनतामा उत्साह र सकारात्मक सन्देश दिएको जिकिर गरे ।

उनले जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडी बढाउने र भएका कमी,कमजोरीहरूलाई सुधार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्नेमा जोड दिए ।

Skip This