महिमानसिंह विष्टको हर्कत: ओलीमाथि कटाक्षदेखि रेशमलाई जेल हाल्नेसम्म !

2.9k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई अनधिकृत रूपमा पक्राउ गर्न आदेश दिँदै सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्ट आफैँ प्रहरी र कारागार कार्यालय पुगेपछि बुधबार अदालतसहित राजनीतिक वृत्त ठूलो हलचल मच्चियो । पाँच घण्टाको कारागार बसाइपछि चौधरी छुटेका छन् ।

उक्त घटनापछि विष्ट पक्राउ परेका छन् भने उनीमाथि अनुसन्धान सुरु गरिएको छ।

विष्टले सर्वोच्च अदालतको चलानी नम्बर १९२७७ को पत्र तयार पारेर चौधरीलाई कारागार चलान गर्न आदेश दिएका थिए । सो पत्रका आधारमा चौधरीलाई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा सहभागी भइरहँदा प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागार लगेको थियो । तर पत्र सर्वोच्च प्रशासनको औपचारिक नभएको खुलेपछि अदालतभित्रै तरंग फैलियो ।

सर्वोच्च अदालतको प्रारम्भिक छानबिनमा विष्ट आफैंले पत्र लेखी त्यसलाई जिल्ला प्रहरी परिसर र डिल्लीबजार कारागारमा आफैं पुर्‍याएको पुष्टि भएको छ । टीकापुर घटनाले आफूलाई ‘साह्रै पीडा’ दिएको भन्दै उनले पत्र लेखेको बयान दिएको समाचारहरु बाहिरिएका छन् ।

विगतदेखि नै विवादास्पद

विष्ट पहिलोपटक विवादमा मुछिएका भने होइनन् ।

सिन्धुपाल्चोकमा गाविस सचिव रहेका बेला गाविस अध्यक्षलाई सरुवाको धम्की दिँदै विवादित बनेका थिए । पछि नुवाकोटमा श्रेस्तेदार हुँदा न्यायाधीश र कर्मचारीसँग काम गर्ने शैलीका कारण ठूला विवादमा परेका थिए । तत्कालीन न्यायाधीशसँगको विवादका कारण उनीमाथि छानबिनसमेत भएको थियो ।

कञ्चनपुरमा तहसिलदार रहेका बेला कानुन व्यवसायीको निवेदन दरपीठ गरेपछि बारले नै विज्ञप्ति निकालेर विरोध गरेको थियो । कञ्चनपुर जिल्ला अदालतको निमित्त स्रेस्तेदार हुँदा सार्वजनिक जग्गा सम्बन्धी परेको रिट उनले दरपीठ गरेका थिए । उनले सार्वजनिक जग्गाबारे अदालतमा पुगेको रिटको विषयलाई लगेर मानव सूचकांकसँग लगेर व्याख्या गरेका थिए । त्यसपछि उनलाई सर्वोच्चले काजमा तानेको थियो ।

विष्ट राजनीतिक टिप्पणीका कारण पनि चर्चामा आएका थिए । २०७८ साउन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गर्दै उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस चर्चामा थियो । तत्कालीन नेकपा कालमा उनले केपी ओलीमाथि कडा आलोचना गर्दै टिप्पणी गरेका थिए ।

‘केपी ओली सर त नयाँ महाराजधिराज भए कि क्याहो? स्पष्टीकरण पनि आफै सोध्ने, आममाफी पनि आफै जुनसुकै बेला दिने, पार्टीको विधान कता छ कुन्नि! पार्टी घोषणापत्रसँग पो अल्मलियो कि? यो त केपी सरको गोप्य श्री ५ को जस्तो हुकुम भयो नि!’ उनले भनेका थिए ।