हृदयेन्द्र शाहलाई प्रधानमन्त्रीको सुझाव: राजा बन्ने सपना नदेख्नू, कला क्षेत्रमा आए राम्रो हुन्छ (भिडियो)

1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई राजा बन्ने सपना छाडेर कला क्षेत्रमा लाग्न सुझाव दिएका छन् ।

बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हृदयन्द्रले सिकेर कला क्षेत्रमा आए राम्रै हुने बताए ।

केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा हृदयेन्द्रलाई ‘आकर्षक अनुहार’ भएको भन्दै फिल्म इन्डस्ट्रिमा आउन सुझाएकी थिइन् । जसलाई राजावादी समर्थकले आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले पन्तमाथि सञ्जालमा भएको आलोचनालाई दुःखद् भन्दै कलाकारले स्वतन्त्र रूपमा विचार राख्न पाउने अधिकारको पक्षमा उभिने धारणा राखे।

‘सुरक्षा पन्तजस्तो कलाकारले कति राम्रो भन्नुभएको छ, राम्रो अनुहार छ, कला क्षेत्रमा आए हुन्छ । रिसाउनु र गाली गर्नुपर्ने तीन हात उफ्रनुपर्ने के छ त्यसमा ?,’ ओलीले भने,’म पनि सुझाव दिन्छु, ति बाबु सिकेर कला क्षेत्रमा आए भने राम्रै हुन्छ। अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ ।’

ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताए ।

गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरुको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जे मा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गर्दै उनले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे ।

‘रातीमा चारवटा स्याल कराउँदा वनै भन्किए जस्तो हुन्छ । तिनले कराएर केही हुन्न । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ,’ उनले भने ‘त्यस्ता प्रवृत्ति विरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङग्रो बजाउनुपरेको छ । यो काममा तपाईंहरु लाग्नुहोला ।’