
२०७२ साल वैशाख १२ गते, एक यस्तो दिन थियो, जसले मेरो जीवनलाई सधैंका लागि बदलिदियो।
त्यो दिन म मेलम्चीघ्याङ्ग स्कुलमा कक्षा ८ को भर्ना परीक्षा दिँदै थिएँ । बाबुसँगै गएको थिएँ । म शान्त मनले लेख्दै थिएँ, अचानक जमिन हल्लिन थाल्यो। सुरुमा सानो हल्लाजस्तो लाग्यो । तर एकाएक सबै कुरा हल्लन थाल्यो, किताब, बेञ्च, पर्खाल । सबै एकाएक कम्पनमा आए, त्यो एक भयावह क्षण थियो।
भुइँचालो आयो…..!
सबैजना कक्षा बाहिर निस्किन दौडिरहेका थिए। म पनि निस्कन लाग्दा एकजना साथीले मलाई समातेर बेञ्चमुनि लुकाए। त्यो एउटा निर्णयले सायद मेरो ज्यान जोगायो। केही समयपछि भूकम्प रोकियो, अनि हामी सबै बाहिर निस्कियौं।
बाहिर निस्किँदा दृश्य अझ डरलाग्दो थियो । ठूलो पहिरो गएको थियो, पानी झरिरहेको थियो, सबै त्रसित र अज्ञात भविष्यको डरमा थिए। त्यसबेला बल्ल मलाई महसुस भयो, मेरो टाउकोबाट रगत बगिरहेको थियो र मेरो खुट्टा भाँचिएको रहेछ। पीडा थियो, तर त्योभन्दा ठूलो पीडा थियो, घर सम्झिँदा भएको भय।
त्यो रात, हामी सबैजना स्कुल नजिकैको एउटा कृषि टनेलमा बस्न बाध्य भयौं। त्यो साँझ उज्यालो थिएन, न बत्ती, न फोनको नेटवर्क। भोक, पीडा, डर, चिसो र अन्धकार मात्र थियो । तर त्यो अन्धकारमा एउटा उज्यालो थियो, स्कुलका शिक्षकहरूको साहस, समर्पण र माया। ती शिक्षकहरूले हामीलाई ढाढस दिनुभयो, व्यवस्थापन गर्नुभयो।
एकजना सरले मेरो टाउकोमा पट्टी लगाइदिनुभयो, त्यो क्षणमा उहाँको त्यो सहारा भगवान सरह थियो।
त्यो रात हामी कसैले निदाउन सकेनौं, शारीरिक पीडा र मानसिक तनावले। भोलिपल्ट बिहान उज्यालो भएपछि हामी घर फर्किन लाग्यौं। तर मेरो खुट्टाले मलाई साथ दिइरहेको थिएन। त्यो अवस्थामा मेरा काका र दाइले पालैपालो मलाई बोकेर तल झार्नुभयो। त्यो माया, त्यो त्याग, सधैंको लागि मेरो हृदयमा अमिट छ।
जब हामी नाकोते आइपुग्यौं, म बिस्तारै हिंड्न थालेँ। तर त्यो यात्रा सजिलो थिएन। हामी ५ घण्टासम्म हिंड्यौं, बिग्रेको बाटो, ठूलो पहिरो, खोलानाला, अनि थकान।
जब घर पुग्यौं, हामी चकित भयौं । हाम्रो घर पूर्ण रूपमा भत्किसकेको थियो। हाम्रै संस्मरण, बाल्यकालको ठाउँ, तिनै चार पर्खाल,अवशेष मात्र थिए।
त्यो दिनले मेरो जीवनको मूलधारै बदलिदियो। मैले जीवन, माया र परिवारको मूल्य गहिरो गरी बुझेँ। मैले पीडामा पनि सहनशीलता, अन्धकारमा पनि आशा र ध्वस्ततामा पनि पुनः निर्माणको आत्मबल पाएको छु।
आज त्यो दिनलाई १० वर्ष बितिसकेको छ। समयले केही घाउहरू पुरेका होलान्, तर मनभित्रको याद र असर अझै ज्यूँका त्यूँ छन्। म अझै सम्झन्छु त्यो रात, त्यो आँसु, त्यो यात्रा। तर म साथसाथै सम्झन्छु, ती असल मानिसहरू, ती न्यानो हातहरू !
त्यो विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए ।
भूकम्पमा परी २२ हजार तीन सय ९ घाइते भएका थिए भने सिन्धुपाल्चोकले सर्वाधिक रुपमा भौतिक र मानवीय क्षति भोग्यो । ३ हजार ५ सय ७१ जनाले भूकम्पमा परी ज्यान गुमाए । ८० हजार निजी घर संरचना माटोमै मिले ।
सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवनहरु भग्नावशेषमा परिणत भइदिए ।
– अपिल देउजा
मेलम्ची नगरपालिका ६ तालामाराङ







प्रतिक्रिया