
काठमाडौं । दुर्गा प्रसाई सञ्चालक रहेका दुई अस्पतालका रोक्का गरिएका बैंक खाताहरू फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलन हिंसात्मक बनेपछि पक्राउ परेका आन्दोलनका कमाण्डर प्रसाईँको व्यक्तिगत बैंक खाता र उनी आबद्ध रहेका अस्पतालहरूका खाताहरू समेत प्रहरीले रोक्का गरेको थियो । खाता रोक्का भएपछि फुकुवा गर्न माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
वि एन्ड सी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पताल प्रालिको तर्फबाट अपरेशन डाइरेक्टर डा. अञ्जली कार्कीले छुट्टाछुट्टै दुई रिट दायर गरेकी थिइन् । ती रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले खाताहरू फुकुवा गर्न आदेश दिएको हो ।
उक्त रिटमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (लाजिम्पाट) सहितलाई बनाइएको थियो । अदालतले अन्तरिमसँगै विपक्षीहरूलाई कारण देखाऊ आदेश समेत जारी गरेको छ।








प्रतिक्रिया