अमेरिकासँगको व्यापार युद्ध बीच चिनियाँ राष्ट्रपतिको दक्षिणपूर्वी एसिया भ्रमण किन महत्त्वपूर्ण ?

मलेसिया पुगेर सीको सन्देश: ट्रम्पको तुलनामा चीन राम्रो साझेदार

525
Shares

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ दक्षिणपूर्वी एसियाली मुलुकहरूको भ्रमणको क्रममा मलेसिया पुगे । यो भ्रमणलाई चीनको एक व्यक्तिगत सन्देशका रूपमा हेरिएको छ । विशेषगरी अमेरिकासँग जारी कडा व्यापार युद्धको बीचमा बेइजिङ अमेरिका भन्दा भरपर्दो व्यापार साझेदारको रुपमा हेरिएको छ ।

सी चिनफिङ मङ्गलबार साँझ मलेसियाको राजधानी क्वालालम्पुर पुगे । उनी त्यसअघि भियतनामको राजधानी हनोईमा थिए, जहाँ उनले कृत्रिम बौद्धिकता (एआई) देखि लिएर रेल विकाससम्मका दर्जनौँ व्यापार सहमति पत्रहरूमा हस्ताक्षर गरेका थिए ।

‘उच्चस्तरीय रणनीतिक सहकार्यलाई अझ गहिरो बनाउनु चीन र मलेसिया दुबैको साझा हितका लागि मात्र होइन, यो क्षेत्रीय र विश्व शान्ति, स्थायित्व र समृद्धिका लागि पनि लाभदायक हुन्छ,’ मलेसियामा ओर्लिएपछि उनले भनेको बारे मलेसियाको सरकारी समाचार संस्था बर्नामाले उल्लेख गरेको छ ।

सीको तीनदेशीय भ्रमण र उनको ‘सन्देश’

बेइजिङ दक्षिणपूर्वी एसियाका लागि अमेरिकाको जस्तो ‘झगडालु’ सरकारभन्दा राम्रो मित्र हो । यो यस्तो समयमा आएको छ जब १० सदस्यीय आसियान राष्ट्रहरू अमेरिकी व्यापार नीतिबाट असन्तुष्ट छन् । अमेरिका अहिले विश्वका धेरै देशहरूमा ठूलो कर लगाइरहेको छ।

‘यो धेरै अर्थपूर्ण भ्रमण हो। यसबाट धेरै कुरा बुझ्न सकिन्छ,’ पूर्व अमेरिकी राजदूत र कानुनी मामिला मन्त्री मोहम्मद नाज्री अब्दुल अजिजले अलजजिरालाई भने, ‘चीन हामीलाई बताइरहेको छ कि उनीहरू भरपर्दो व्यापार साझेदार हुन्, अमेरिका होइन । हामीले उनीहरूसँग कहिल्यै समस्या भोगेका छैनौँ ।’

प्रधानमन्त्री अन्वरको पालामा मलेसिया चीनसँग निकै नजिकिएको छ । जसलाई मलेसियामा राम्रोसँग लिइएको र यसले दीर्घकालमा अमेरिकाको प्रभाव घट्ने विश्वास लिइएको छ ।

चीनसँग व्यापार र कूटनीतिक सम्बन्ध सुदृढ हुँदै गइरहेको छ र दुबै मुलुक लाभ लिइरहेको उनको भनाइ छ ।

‘हामी चीनमै केन्द्रित छौँ, त्यो नै हाम्रो सोच हो,’ उनले भने।

अमेरिकाले मलेसियामाथि २४ प्रतिशतको व्यापार कर लगाएको छ, र मलेसियाले अमेरिकी सामानमा ४७ प्रतिशतको कर लगाएको आरोप ट्रम्प प्रशासनको छ । मलेसियाली अधिकारीहरूले भने यस आरोपलाई अस्वीकार गरेका छन्।

राष्ट्रपति ट्रम्पले हालै विश्वभरका देशहरूमा लगाइएको उच्च व्यापार करहरूमा ९० दिनको मोराटोरियम (अस्थायी रोक) घोषणा गरेका छन् । त्यसको सट्टा ती देशहरूले अब अमेरिका निर्यात गर्दा १० प्रतिशत कर तिर्नुपर्ने हुन्छ । तर चीन भने यसबाट बाहिर राखिएको छ । उसले अमेरिकी सामानमा १४५ प्रतिशत कर बेहोर्नु परेको छ।

‘अमेरिकालाई बाइपास गर्ने प्रयास’

सी चिनफिङ तीन दिन मलेसियामा रहनेछन् । यस अवधिमा उनले मलेसियाका राजा सुल्तान इब्राहिम इब्नी इस्कान्दर, प्रधानमन्त्री अन्वर इब्राहिमसँग भेटघाट गर्नेछन्, राजकीय भोजहरूमा सहभागी हुनेछन् र आज कम्बोडिया जाने कार्यक्रम छ।

उनले भियतनाम भ्रमणका क्रममा हनोईसँग मिलेर ‘हेजेमोनिज्म (एकदेशीय प्रभुत्व), एकतर्फी निर्णयहरू र संरक्षणवाद’ को विरोध गर्न आह्वान गरेका थिए । उनले ‘खुला, समावेशी, सन्तुलित र सबैका लागि लाभदायक आर्थिक विश्वव्यवस्था’ को समर्थन गरेका थिए, जस्तो कि चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एपीले भनेको छ,चीन र भियतनाम ‘मिलेर अमेरिकालाई कसरी बेवकुफ बनाउने भनेर योजना गरिरहेका छन् ।’

‘मलेसियामा सीको भ्रमणको उद्देश्य अमेरिकालाई बाइपास गर्ने वैकल्पिक व्यवस्था प्रस्ताव गर्नु पनि हो,’ टास्मानियाको युनिभर्सिटी अफ अस्ट्रेलियामा एशियाली अध्ययनका प्राध्यापक जेम्स चिन भन्छन्। उनका अनुसार चीनले ‘नयाँ अन्तर्राष्ट्रिय प्रणाली’ निर्माण गर्ने योजनालाई अघि बढाउन चाहेको हो जस्तै ब्रिक्स– जसमा ब्राजिल, रूस, भारत, चीनलगायत १० देश छन्।

साथै, क्षेत्रीय समग्र आर्थिक साझेदारी (आरसीईपी) व्यापार सम्झौता । जुन विश्वकै सबैभन्दा ठूलो व्यापार सम्झौता मानिन्छ । यसमा चीनसहित सबै १० आसियान राष्ट्रहरू, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्ड पनि सदस्य छन् ।

‘सारा योजना नयाँ अन्तर्राष्ट्रिय व्यवस्था बनाउने हो… ट्रम्पले चीनलाई अझ बलियो रूपमा विकासोन्मुख देशहरूमा प्रभाव बढाउन बहाना दिएका छन्,’ जेम्स चिनले भने।

‘चीनले दुईदेशीय व्यापार प्रणाली स्थापना गर्ने प्रयास गरिरहेको छ, जहाँ अमेरिकी डलर प्रयोग गर्न नपरोस्। जोसुकैले चीनसँग व्यापार गर्न चाहन्छ, उसले आफ्नो मुद्रा वा चिनियाँ रेमिन्बी साटासाट गरेर व्यापार गर्न सक्छ,’ उनले थपे।

‘चीनसँग गर्दा फाइदा हुन्छ’

सीले यसपटक भ्रमण गरेका तीन देशहरूमध्ये चीनका लागि मलेसिया सबैभन्दा महत्वपूर्ण मानिएको छ । यसको कारण हो – मलेसियाको ३२ मिलियनको ठूलो जनसंख्या, उच्च प्रविधिमा विकास भइरहेको आधार, र हाल मलेसिया आसियानको अध्यक्ष समेत हो । चीन २००९ देखि मलेसियाको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ, र सन् २०२४ मा दुबै देशबीचको व्यापार २१२ अर्ब अमेरिकी डलर पुगेको छ।

‘चीन मलेसियासँगको व्यापार वृद्धि गर्न चाहन्छ, ताकि अमेरिकासँग घटेको निर्यातलाई सन्तुलनमा ल्याउन सकियोस्,’ जेम्सटाउन फाउन्डेसनका वरिष्ठ विश्लेषक तथा लेखक विली वो-लाप लामले भने।

‘राजनीतिक दृष्टिले मलेसियाको आसियानभित्र ठूलो प्रभाव छ,’ लामले भने। ‘विशेष गरी दक्षिण चीन सागरमा चीनको आक्रामक गतिविधिको विरुद्ध अन्य देशहरूले कस्तो प्रतिक्रिया दिने भन्ने सन्दर्भमा।’

सिंगापुरको लि कुआन यु स्कूल अफ पब्लिक पोलिसीका एसोसिएट प्रोफेसर अल्फ्रेड मुलुआन वुले पनि चीनले मलेसियालाई आफ्नो पारम्परिक प्रभाव क्षेत्रको रूपमा हेर्ने गरेको बताए – विशेषगरी आर्थिक हिसाबले, जहाँ ‘चाइना प्लस वन’ रणनीतिअन्तर्गत चिनियाँ कम्पनीहरू उत्पादन केन्द्र र आपूर्ति श्रृंखला चीनबाहिर विस्तार गरिरहेका छन्।

चीनले मलेसियाजस्ता देशहरूमा उद्योग स्थापना गरेर आफ्नो प्रभाव फैलाउन चाहेको वुले बताए।

मलेसियाको थिंक ट्यांक ‘प्यासिफिक रिसर्च सेन्टर’ का प्रमुख सल्लाहकार ई सुन ओहका अनुसार पनि सीको भ्रमण मलेसियालाई अमेरिका होइन, चीनतर्फ केन्द्रित गराउने प्रयास हो। यो मलेसियाको लागि पनि फाइदाजनक हुन सक्छ।

‘भूराजनीतिक हिसाबले मलेसियाले कहिलेकाहीं अमेरिका विरुद्ध उभिन चीनसँग नजिक हुने रणनीति बनाउने सम्भावना रहन्छ, विशेषगरी मध्यपूर्वको मुद्दाजस्ता टाढाका विषयमा,’ ओहले भने। मलेसिया मुस्लिम बहुल देश भएकोले पालेस्टिनी मुद्दामा अमेरिकाको आलोचना गर्दै आएको छ।

तर मुख्य कुरा भनेको मलेसिया राम्रो व्यापार गर्न चाहन्छ, र चीनबाट थप लगानी ल्याउन, अनि चिनियाँ बजारमा बढी पहुँच बनाउन चाहन्छ।

पूर्व अमेरिकी राजदूत अब्दुल अजिजले पनि सहमति जनाए । ‘हामी चीनसँग नजिकिएका छौं भने, त्यो कारण हामी चीनसँग व्यापार गर्दा फाइदा कमाउँछौं,’ उनले भने।

Skip This