आध्यन्त एक्सिलेरेटरको कोशी लगानी सम्मेलन सम्पन्न

21
Shares

विराटनगर । आध्यन्त फण्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विसकन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम अन्तर्गतको कोशी लगानी सम्मेलन बुधवार सम्पन्न भएको छ ।

यस सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक र पर्यटनसँग सम्बन्धित कोशी प्रदेशका उद्यमीहरूले लगानीकर्ता समक्ष लगानीका लागि आफ्नो उद्यमको कार्यकारी अवस्था प्रस्तुत गरेका थिए । सम्मेलनको मुख्य उद्देश्य उद्यमीहरूलाई लगानीकर्तासँग जोड्नु थियो ।

सम्मेलनमा हिमालयन ह्वाइट ड्रप डेरीका योगेन्द्र गिरि, बी एन्ड बी ब्रिडिङका भीम श्रेष्ठ, ब्राइट फिडका गोपाल श्रेष्ठ, नेपालीरिका होटलका आकाश दुलाल, गोर्खा टी स्टेटका सौरभ थपलिया, प्रथम आईटीका सुरज चिमरिया, र जयपति डेरीका यादव ढकाल गरी ७ उद्यमीहरूले आफ्नो उद्यमबारे प्रस्तुति दिएका थिए । लगानीकर्ताको रूपमा टिम भेन्चर्स, अल्फा पल्स, र एन.आई.एम.बी.एस. क्यापिटलको उपस्थिति थियो।

सम्मेलनमा जयपति कृषि फर्म र डी.भी. एक्सलेसले कामधेनु डेरीका १०० किसानलाई २ लाखसम्मको बिना धितो ऋण दिने एन.आई.एम.बी.एस. बैंक मार्फत प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरे । यसले साना किसानलाई ऋण लिन सहजता ल्याउने सहभागीको विश्वास थियो ।

लक्ष्मी सनराइज बैंककी प्रमुख व्यवसाय अधिकारी आरती राज्य लक्ष्मी राना ले यस्ता एक्सिलेरेटर कार्यक्रमहरूले व्यवसायहरूको आत्मविश्वास बढाउन सकारात्मक भूमिका खेल्ने बताउदै यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्नेमा पनि जोड दिइन । त्यसैगरी कृषि विकास बैंकका उप–महाप्रबन्धक मिनराज पोखरेलले कृषि र गैर–कृषि उद्यमहरूलाई ऋण उपलब्ध गराउन बैंक इच्छुक रहेको सहभागीलाई आश्वासन दिए ।

स्विसकन्ट्याक्ट र आध्यन्तको सम्युक्त लगानीमा गरिएको एकस्लेरेटर कार्यक्रम मार्फत उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । यस कार्यक्रमसँगै आध्यन्त एक्सिलेरेटर कार्यक्रमको दोस्रो सत्र पनि औपचारिक रूपमा समापन भएको छ । आध्यन्तले पहिले पनि कोशी प्रदेशमा लगानी सम्मेलन आयोजना गरेको थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर गुरुङले लगानी बिना उद्यमको विकास सम्भव नहुने बताउदै कोशी प्रदेश सरकारले लगानी सम्मेलन मार्फत यसलाई सम्बोधन गर्ने प्रयास गरिरहेको वताए ।

उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले नेपाली वस्तुहरूले विदेशी बजार पाउन सके थप आर्थिक विकास सम्भव हुने बताए ।

आध्यन्तका सह–संस्थापक र निर्देशक मनोज पौडेलले कोशीसँग गहिरो र दीर्घकालिक सम्बन्ध रहेको वताउदै कोशीका विभिन्न व्यवसायमा लगभग ८२ करोड रुपैयाँको लगानी गर्दै आध्यन्तले यस क्षेत्रमा अझै लगानी बढने अवस्था रहेको वताए ।

नेपाल बजार विकास कार्यक्रमकी टिम लिडर रीमा श्रेष्ठले एक्सिलेरेटर कार्यक्रमले व्यवसायलाई वृद्धि गर्न र सफल बनाउन खेलेको महत्त्वपूर्ण भूमिका वारे चर्चा गरिने । उनले स्विस विज्ञहरूले अर्गानिक खेतीमा प्रदान गरेको प्राविधिक सहायताले खेलेको सकारात्मक प्रभावबारे उल्लेख गर्दै उनले परियोजनाको कार्यकाल समाप्त पछि पनि व्यवसायहरूलाई निरन्तर सेवा प्रदानकालागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यन्त, र उपाय बिजनेस सोलुसन्स जस्ता संस्थासँग सहकार्य गरिरहेको जानकार दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रम अन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टरबारे चर्चा गरे। यो केन्द्रले व्यवसाय विकास सेवाहरू खोज्ने उद्यमहरूलाई प्रत्यक्ष रूपमा समर्थन प्रदान गर्ने, यस्ता पहलहरूमा महासंघ सधै तत्पर रहने र यसले कोशी प्रदेशमा व्यापार र रोजगारका लागि सकारात्मक प्रभाव पार्नेमा विश्वास व्याक्त गरे ।

Skip This