हेर्दाहेर्दैमा राखियो ५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा


काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्ध दायर मुद्दा हेर्दा हेर्दैमा राखिएको छ ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भएको सुनुवाइपछि सर्वोच्च अदालत प्रशासनले आगामी वैशाख ३ गतेका लागि तारेख तोकेको छ ।

आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी, रामप्रसाद भट्टराई र अधिवक्ता दीपेन्द्र झाले बहस गरेका थिए ।

उनीहरूले मुद्दाको सुनुवाइ दैनिक रूपमा गर्न माग गरेका थिए । तर, इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश राउतले अन्य व्यवहारिक कारणले दैनिक रूपमा सुनुवाइ गर्न कठिन भएको बताए ।

२०७७ मंसिर ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेका थिए । उक्त सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो।

यी नियुक्तिहरूविरुद्ध १५ वटा रिट दायर भएका थिए जसको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ ।

Skip This