
काठमाडौं । विगत चार वर्षदेखि अत्याधुनिक कृषि कारखानामार्फत उत्पादन गरी नेपालीलाई अर्गानिक राजा च्याउ (किङ ओइस्टर मसरुम) को स्वाद चखाउँदै आएको एनसी एग्रोटेक इन्डस्ट्रिजले व्यवसायिक योजना विस्तार गर्न आईपीओ निकाल्ने प्रक्रिया अघि बढाएको छ ।
यो कृषिजन्य कम्पनीले २०७८ सालदेखि नेपालमै पहिलो पटक राजा च्याउको अत्याधुनिक कारखाना स्थापना गरी उत्पादन गर्दैआएको छ । ३५ करोड रुपैयाँको लगानीमा यो कम्पनीले पूर्व नवलपरासी गैडाकोट नवलपुर कारखाना सञ्चालनमा ल्याएको छ ।
एनसी एग्रोटेक इन्डस्ट्रिज लिमिटेडले प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको दरले १८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
क्यापिटलको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा एनसि एग्रोटेक इन्डष्ट्रिज लिमिटेडको तर्फबाट अख्तियार प्राप्त सञ्चालक दिपकप्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईंटेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
२०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालनमा आएको एनसि एग्रोटेकको काठमाडौंको टोखामा केन्द्रिय कार्यालय छ ।

यो कम्पनीले कृषि उत्पादन पश्चात उत्पादन हुने अवशेष प्रयोग गरी ताजा राजा च्याउ उत्पादन गर्दै आएको छ । कम्पनीका सञ्चालक न्यौपानेका अनुसार राजा च्याउको उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्ने लक्ष्य राखिएको छ । च्याउ उत्पादन गर्ने कारखानामा मात्रै एक सयजनाले रोजगारी पाएका छन् ।
एनसि एग्रोटेकअन्तर्गतको सबै उत्पादन उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएमा ५ सयभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराउन सकिने उनको भनाई छ । बजारमा राजा च्याउ प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री भइरहेका छन् । ठूला रेष्टुराँदेखि पाँचतारे होटेलमा यो च्याउको खपत अत्यधिक रहेको न्योपानेले जानकारी दिए ।
यो कृषि उद्योगले च्याउ जस्तै यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रीफोलालगायतका च्याउ तथा यस्ता च्याउमा पाइने माइसेलियसबाट क्याप्सुल बनाएर विदेशमा निर्यात गर्दैआएको छ ।
च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राइ मशरुम, मसरुम सुप तथा क्यान मसरुम उत्पादन गर्नुका साथै गोब्रे च्याउ उत्पादन गर्नका लागि कम्पोष्ट मलसमेत उत्पादन गरी देशभर बजारीकरण गर्दैआएको छ ।
यो कृृषि उद्योगले च्याउ टिपिसकेपछि बाँकी रहेको कम्पोष्ट तथा बाँस प्रशोधन गर्दा निष्कने भुषलाई कोइलामा परिणत गरी वातावरण मैत्री गोलसमेत उत्पादन गर्दैआएको छ । यो कृषि उद्योगबाट राजा च्याउवाहेक, कम्पोष्ट मल, बाँसको टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्का लगायतका कृषिजन्य वस्तु उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया