पूर्वराजा/महाराजाले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरे: प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका राजा/महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले विगतका राजा/महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए ? दरबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी रहेको बताए ।

‘हिजोका राजा, महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयहरु गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए ?,’ प्रचण्डले भने,’यहीँ अस्ति भर्खरै कोलकतामा तिमीहरुको राजाहरुले बेइज्जत नै गरे छिटो फर्काउ भन्नुपर्ने स्तर कसले गरेको थियो, दरबार हत्याकाण्ड कसले कसरी गरेको हो यो युवालाई बुझाउनुपर्छ ।’

अरु सबैकुरा परिवर्तन गर्न सकिने भए पनि जमानामा गएको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता परिवर्तन गर्न नसकिने बताए ।

राजावादीहरुले गरेको प्रदर्शन संविधान विपरित भएको उनको भनाइ छ ।

‘अहिले तथाकथित राजावादीहरुले जे गरेका छन् त्यो संविधान विपरित काम हो । जनताको सार्वभौम सत्ता खोस्नेतिर गएका छन् । जनतालाई फेरि रैती बनाउने उद्देश्यले प्रेरित छ । त्यसलाई कुनै हालतमा सफल हुन दिइनेछैन । त्यो फेरि कालरात्री फर्कातिर हामी दिँदैनौँ,’ प्रचण्डले भने, ‘ हामीले आफ्ना छोराछोरी र पुस्तालाई हिजो के भएको थियो कोत पर्व, भण्डारखाल पर्व किन भएको थियो । सयौँ भारदारहरुको हत्या कसरी गरिएको थियो । नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारीया राजाहरुले कसरी गरेका थिए, विदेशीको चाकडी कसरी गरेका थिए ?’

प्रचण्डले कांग्रेस एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउन लागेको चर्चा गरिएको भन्दै आफूहरुले सरकारमा जाने कुनै नीति नलिएको बताए ।

देशमा संकट आएको खण्डमा संकट समाधानका लागि आफूहरुले विचार दिने तर यही सरकारमा गएर सामेल नहुने उनको भनाइ थियो ।