
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन रङ्गीचङ्गी रङ्गको सहयोगमा मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ ।
तराई मधेशमा भने यो पर्व भोली(शुक्रबार) मनाइनेछ । फागु पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने यो पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।
पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी बनाएर त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढालेर बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ ।
राष्ट्रपतिदेखि प्रधानमन्त्री तथा प्रचण्डसम्मको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
“विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले पनि शुभकामना मन्तव्य सार्वजनिक गर्दै फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबिच सद्भाव बढाउन सहयोग पुग्ने बताएका छन् ।
प्रतिक्रिया