६२ यात्रु सवार बुध्द एयरको जहाज काठमाडौंमा अवतरण, पांग्रा जनकपुरमै !


काठमाडौं । बुध्द एयरको जनकपुरबाट काठमाडौं आएको जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ ।

जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील नभएको चालक दलका सदस्यले थाहनै पाएनन् । तर पनि जहाज भने सकुशल काठमाडौंमा अवतरण गरेको छ ।

जनकपुरबाट ४ बजेर ३९ मिनेटमा उडान गर्दा पांग्रासहित उडेको जहाज काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गर्दा अगाडिको पांग्रा नै थिएन् ।

जहाजको अगाडि दुईवटा नोज ह्वील हुनुपर्नेमा अवतरणपछि एउटा मात्रै पाइएको थियो । जहाज अवतरणपछि बाटैमा पांग्रा हराएको विषयमा खैलाबैला भएको छ ।

काठमाडौंमा खैलाबैलापछि जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको थियो । बुध्दको युफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक ९ एन एएनएच कलसाइनको जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भने गरेको छ ।

जनकपुर विमानस्थलको धावनमार्गमा फेला परेको बुध्द एयरको पांग्रा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जहाजको बारेमा कुनै रिपोर्ट नभएको र जानकारी समेत आफूलाई नभएको भन्दै पन्छिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने जनकपुरबाट काठमाडौं आएको विमानको पांग्रा नभएको विषयमा पार्किङमा पुगेपछि मात्र थाहा भएको बताए ।

‘ल्यान्डिङ गेयरको नोटिफिकेशन ककपिटमा नआउने र कुनै इन्डिकेटरले सूचित नगरेकाले एउटा पांग्राले मात्रै भए पनि जहाज सकुशल अवतरण गर्‍यो,’ उनले भने, ‘यो जहाजलाई ग्राउन्डेड गरेर जाँच भइरहेको छ ।’

उक्त जहाजमा ६२ जना यात्रु सवार थिए ।