सहकारी र लघुवित्त पीडिले गरे निर्णायक आन्दोलनको घोषणा

441
Shares

काठमाडौं । वित्तिय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् ।

काठमाडौंको संवाद डबलीमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहति निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तिय शोषण गर्ने संस्थाहरुलाई कार्वाही पनि नगर्ने र पीडितहरुलाई न्याय पनि नदिएको भन्दै आक्रोष व्यक्त गरे ।

लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु न्यायका लागि निरन्तर संघर्षमा रहँदा पनि सरकारले नसुनेको र उल्टै पीडितहरुलाई नै दमन गर्न थालेको भन्दै आक्रोष व्यक्त गरे ।

आफूहरुको संगठनसहित विभिन्न संगठनहरुको संयुक्त लडाँईले सरकारलाई जसरी पनि घुँडा टेकाएर न्याय खोसेरै छाड्ने उद्घोष गरे ।

वित्तिय पीडतहरुको आन्दोलनलाई साथ दिने प्रतिबद्धता जाहेर गर्दै पूर्व आईजीपी सर्बेन्द्र खनालले सबै किसिमका वित्तिय पीडितहरु एक ठाउँमा आउन आग्रह गरे । सहकारी, लघुवित्त तथा मिटरब्याजीलगायतका सबै पीडतहरुको न्यायको बाधक सरकार नै भएको खनालले आरोप लगाए ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार तथा अवकास प्राप्त उपरथि होमनाथ दवाडीले वित्तिय समस्याबाट प्रताडित जनताको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता जाहेर गरे ।

मिसन नेपालका अध्यक्ष तथा अवकास प्राप्त डिएसपी कृष्ण प्रसाद शर्माले अहिलेका नेताहरुको कारण देशको विश्वमा बेइजत भएको बताउँदै भने, ‘डोनाल्ड ट्रम्पले ठगको देश, भारतले भिखारीको देश र चीनले भ्रष्टाचारीको देश भनेर दुत्कारीरहेका छन्, यसको दोषी यी नेताहरु ।’

लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले ३८ महिनादेखि निरन्तर संघर्ष गर्दा पनि नसुन्नुले सरकार पीडकको पक्षमा रहेको पुष्टि भएको बताए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका केन्द्रीय कोषाध्य देव कुमार श्रेष्ठले सहकारीमा रहेको जनताको खरबौंको निक्षेप सरकारको संरक्षणमा पीडकहरुले पचाउने षड्यन्त्र भएको आरोप लगाए ।

संयुक्त उद्योगी व्यवसायी तथा कृषक संघका संयोजक आरबी सदा संकरले राष्ट्र बैंकको गलत नीतिका कारण आफूलगायत पीडितहरुलाई १० करोडको जग्गा ३ करोडमा लिलाम गराई रोडमा पुर्याएको गुनासो गरे ।

सो आन्दोलनमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ, लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति, मिसन नेपाल, पूर्व सुरक्षा परिषद् नेपाल, वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, संयुक्त उद्योगी व्यवसायी तथा कृषक संघ, वैदेशीक रोजगारी ठगी विरुद्ध आन्दोलन्, कृष किसान महासंघ, यातायात मजदुर व्यवसायी पीडत महासंघ गरेर ९ वटा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघको नामबाट संयुक्त र निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।