९० लाखसम्म तिरेर महिनौं हिँडेपछि पुगेका थिए अमेरिका, हत्कडी लगाएर काठमाडौं झारिदियो

12.4k
Shares

काठमाडौं । अमेरिकाबाट निष्कासित ९ जना नेपाली नागरिक बुधबार बिहान १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भए ।

अवैधरुपमा बसिरहेका आप्रवासीलाई डिपोर्ट गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिपछि उनीहरुलाई चार्टर्ड विमानमार्फत नेपाल ल्याइएको हो । यस मध्ये ८ जनालाई अमेरिकी प्रहरीले चार्टर्ड फ्लाइटमा हत्कडी र खुट्टामा नेल बाँधेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोडेको स्रोतको दाबी छ ।

अमेरिकाबाट डिपोर्ट हुनेहरुमा दाङ, रुकुम, रोल्पा र डोटीका युवा-युवती समावेश छन् । डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थबहादुर नामका छन् ।

अमेरिकी अधिकारीहरूले डिपोर्टमा परेका नेपालीलाई न्यूयोर्क र अल्बानिया हुँदै नेपाल ल्याएका हुन् । चार्टर्ड फ्लाइटले इन्धन भर्न अल्बानियामा १ घण्टा रोकिएको थियो । एक महिला बिनिता भने व्यावसायिक उडानमार्फत कतार हुँदै स्वदेश फर्किएकी छिन् । निष्कासन स्वीकारेपछि आफूलाई सामान्य फ्लाइटमा राखिएको उनको भनाइ छ ।

उनीहरु दुबई, युरोप, ब्राजिल र मेक्सिको हुँदै अवैध रूपमा अमेरिकी सीमा प्रवेश गरेको अनुसन्धानका क्रममा खुलेको छ । ब्राजिलमा पुगेपछि बिचौलियाहरूले उनीहरूको पासपोर्ट जफत गरेका थिए । जंगल, समुद्र, खोला, हुँदै महिनौं यात्रापछि उनीहरु अमेरिका पुगेका थिए ।

मानव तस्करी अनुसन्धान ब्युरोका एक प्रहरी अधिकारका अनुसार उनीहरु प्रतिव्यक्ति ४० देखि ९० लाख रुपैयाँसम्म खर्च गरी अमेरिका पुगेका थिए । तर अमेरिकी सीमामा प्रवेश गर्नासाथ उनीहरु पक्राउ परेका थिए ।

११ महिनादेखि अमेरिकी हिरासतमा रहेका यी नेपालीहरू अदालती आदेश अनुसार फर्काइएका हुन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएसँगै उनीहरुलाई अध्यागमनले प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीको मानव तस्करी ब्युरोले उनीहरुसँग अमेरिका पठाउने बिचौलिया र तस्कर समूहको बारेमा जानकारी मागेको थियो । तर, उनीहरुले त्यसबारे खास बताउन खोजेनन् ।

ब्युरोका एक अधिकारीका अनुसार उनीहरुले आफूहरु पीडित नभएको बताएपछि परिवारसँग सम्पर्क गरिएको बताए ।

फर्काइएका ९ जनामध्ये ७ जना मात्र नेपालको विमानस्थल प्रयोग गरेर बाहिरी देश गएको देखिएको छ । बाँकीको ट्राभल हिष्ट्री देखिएको छैन ।

२०२० जनवरी देखि अमेरिकाबाट कुल ३५ नेपाली (३० पुरुष, ५ महिला) निष्कासित भएका छन् । यीमध्ये धेरैजना २०/३५ वर्षका युवा हुन् भने उनीहरूको यात्रा रुट र समयअवधि फरक-फरक रहेको छ । अधिकांशले ५ देखि ९ महिना अमेरिकी हिरासत काटेपछि स्वदेश फर्किएका हुन् ।

अमेरिकामा अवैध प्रवेश गर्ने यी नेपालीहरू मुख्यतः शरणार्थी दावी गरेर बसेका थिए । तर, ट्रम्पको कडा नीतिअनुसार अधिकांशलाई हिरासतमा लिई कानुनी प्रक्रिया पूरा गरी निष्कासन गरिएको हो ।

कति छन् नेपाली ?

गैरकानूनी रुपमा अमेरिकामा लुकेर बसेका, औपचारिक कागजातहरु नभएका आप्रवासीहरुलाई अवैध आप्रवासी भनिएको छ।

‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ का अनुसार तत्कालीन राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली बिनाभिसा अमेरिका छिरेका थिए । तीमध्ये २ हजार ८ जना आइसको हिरासतमा परेका थिए ।

ठूलो मात्रामा आप्रवासीहरूलाई निष्कासन गर्न थालेसँगै अमेरिकामा रहेका नेपाली आप्रवासी समुदाय पनि प्रभावित भएको हो ।

ट्रम्पको निष्कासन योजनामा अमेरिका छोड्न अदालतबाट अन्तिम आदेश पाइसकेका तर अझै अमेरिका नछोडेका व्यक्तिहरू मुख्य प्राथमिकतामा पर्नेछन् ।

इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्टद्वारा सार्वजनिक तथ्यांक अनुसार १ हजार ३६५ नेपालीहरूले अन्तिम निष्कासन आदेश पाए पनि कुनै कानुनी सुरक्षा नपाएका कारण अमेरिका बसिरहेका छन् । टीपीएस ( टेम्पोररी प्रोटेक्टेड स्टाटस) वा अन्य कुनै कानुनी सुरक्षा नभएका यी व्यक्तिहरू पक्राउ परेमा तुरुन्त निष्कासनको जोखिममा पर्नेछन्।

यीमध्ये अधिकांश व्यक्ति २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका हुन् र निष्कासनको अन्तिम आदेश पाइसकेका आप्रवासी भएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ ।

२४ जुन २०१५ भन्दा अगाडि अमेरिका प्रवेश गरेका नेपालीहरू टीपीएस अन्तर्गत संरक्षित भएका कारण उनीहरूलाई तत्काल निष्कासन गर्न नसकिने बताइएको समाचारमा उल्लेख गरिएक छ ।

हालसम्म अमेरिकी इमिग्रेशन अदालतहरूले ३ हजार ५०० नेपालीहरूलाई निष्कासन आदेश जारी गरिसकेका छन् । तीमध्ये करिब २ हजार जनाले स्वेच्छिक रूपमा अमेरिका छोडेका छन् ।

तर, अझै करिब १ हजार ५०० व्यक्ति टीपीएस अन्तर्गत सुरक्षित भए पनि निष्कासन आदेशको अन्तिम सूचीमा छन्।

अध्यागमन सम्बन्धी अमेरिकी निकाय ‘इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट’ (आइस) ले जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली फर्काइसकेको छ । आइसले तीन नेपालीलाई भने पानामा डिपोर्ट गरिएको जनाएको छ ।