
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) आउँदो चैत महिनामा सुरु हुँदैछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टले प्रतियोगिता चैत २९ गतेका लागि उद्घाटन मिति तय गरेको छ ।
प्रतियोगिताका लागि मिनि अक्सन सम्पन्न भइसकेको छ । यो पटक प्रतियोगितामा ७ टोलीले सहभागिता जनाउँदैछन् । त्यसमध्यको उपाधि दावेदार एउटा टोली हो, एफसी चितवन ।
प्रतियोगिताको मिनि अक्सनमा भाग्यमानी सावित भएको टोली तेस्रो संस्करणमा उपाधि जित्ने लक्ष्यमा छ । नेपाली राष्ट्रिय टोलीका मुख्य खेलाडी अन्जन विष्ट मार्की खेलाडी रहेको टोलीमा अभिषेक लिम्बु, सुमित श्रेष्ठ, रोहन राना, छिरिङ गुरुङ जस्ता खेलाडी टिममा छन् ।
विदेशी खेलाडीहरु पनि अघिल्लो सिजनभन्दा राम्रो ल्याउने क्बलले योजना बनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका उद्योगी चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल एफसी चितवनका अध्यक्ष हुन् ।
क्लबका अध्यक्ष सचिन ढकालका अनुसार समर्थकहरुले अहिलेको सिजनमा चितवनबाट केही नयाँ अनुहार देख्न पाउनेछन् ।
दुई सिजनमा जस्तोसुकै प्रदर्शन भए पनि यो सिजनमा अक्सनबाट नै राम्रो देखिएको हुँदा उपाधि होडमा आफूहरु बलियो भएको उनी बताउँछन् ।
‘पछिल्लो दुई सिजन हेर्दा सोचे अनुसार हुन सकेन । यो सिजन भने हामी केही फरक ढंगले लागेका छौं । अक्सन देखि प्रतियोगितामा विदेशी खेलाडी भित्र्याउनेसम्म हाम्रो योजना बलियो छ । उपाधि होडमा हामी बलियो छौं,’ ढकालले क्लिकमान्डुसँगको विशेष कुराकानीमा भनेका छन् ।
चितवनले अक्सन सकिएको साता दिनमै ट्यालेन्ट हन्ट पनि सकाएको छ । ट्यालेन्ट हन्टमार्फत् चितवनले ४ जना खेलाडी छानेको छ । मिलेसम्म चितवनको फुटबललाई नै विशेष ध्यानमा राख्ने योजना बनाएको क्लबले जिल्लाका ४ जना खेलाडीलाई नै टिममा राख्ने योजना बनाएको छ । तीमध्ये एक जना स्क्वाडमा पर्नेछन् ।
अध्यक्ष ढकाल सानै देखि फुटबलमा रुची राख्थे । भारतमा अध्यनका क्रममा निकै फुटबल खेले । भारतमा पढ्दा फुटबलकै कारण साथी बनाउन पाएको सम्झना गर्दै उनले कुराकानीका क्रममा खेलकुदले आफूलाई धेरै सहयोग पुगेको सम्झिए ।
‘मैले फुटबललाई सानै देखि पछ्याएको हुँ । केही गर्न नसक्दा पनि फुटबलले नै साथी बनाउन र भाइचारा बढाउन सहयोग गर्दो रहेछ भन्ने निष्कर्ष त्यही बेला निकालेको हुँ,’ ढकालले भने ।
ढकालको नेपाली फ्रेन्चाइजी फुटबलको यात्रा रोचक छ । अध्ययनको शिलशिलापछि अमेरिका पुगेका ढकाल लकडाउनको समयमा नेपाल फर्केका थिए । सामाजिक सञ्जालमा उनलाई कसैले एनएसएल बारे जानकारी गरायो ।
आईएमई ग्रुपलाई पनि एनएसएल क्लब खरिद गर्न एउटा अफर आयो । सचिन फुटबलमा रुची राख्ने भएका कारण त्यो अफरलाई सजिलै स्वीकारे । त्यसपछि सचिन र आईएमई ग्रुपको फुटबलमा व्यावसायिक यात्रा सुरु भयो ।
फुटबललाई बाहिरबाट हेर्दा भन्दा म्यानेजमेन्ट टिममा बसेर काम गर्नु धेरै फरक भएको बताउँछन् सचिन । पहिलो पटक फ्रेन्चाइजी टिमलाई लिड गरिरहेका उनलाई नेपाली फुटबलको विकासमा उभिन पाउँदा निकै खुसी लागिरहेको छ ।
फुटबललाई व्यवसायका रुपमा नलिने सचिनको हुटहुटी छ, नेपाली खेलकुद विकासका लागि केही न केही योगदान गर्ने । फुटबलमार्फत् नेपाली खेलाडीलाई केही राम्रो क्षण उपहार स्वरुप दिन सकेकोमा उनलाई गौरव लाग्छ ।
‘फुटबलको म्यानेजमेन्ट टिममा बसेर काम गर्दा थाहा भयो कि बाहिरबाट हेर्दा जस्तो सजिलो छैन । धेरै मिहिनेत गर्नु पर्ने रहेछ । अहिले धेरै कुरा सिकेको छु । यसलाई निरन्तरता दिएर नेपाली फुटबलमा केही योगदान गरौं भन्ने लागेको छ,’ ढकालले भने ।
ढकालको टोली एफसी चितवनले तेस्रो सिजनमा भने बेग्लै खेल पस्कने योजना बनाएको छ । त्यसका लागि सचिनले समर्थकलाई हौसला दिँदै सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।
प्रस्तुत छ, एफसी चितवनका अध्यक्ष सचिन ढकालसँग गरिएको विशेष कुराकानीः
प्रतिक्रिया