अन्तर्राष्ट्रिय आपराधिक गिरोहको ‘हब’ बन्दै काठमाडौं, किन रोजे नेपाल ?

1.3k
Shares

काठमाडौं । फागुन ५ गते नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठ–५ बाट २४ जना भारतीयले व्यवसायीक रुपमा अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/ खेलाउनेलाई पक्राउ गर्‍यो ।

बूढानीलकण्ठ नगरपालिका–५ मा २ वटा घर भाडामा लिएर १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ रकम बराबरको अनलाइन (जुवा) सट्टाबाजी गर्ने २४ जना पक्राउ परे । पक्राउ पर्नेमा अधिकांश बिहार र उत्तर प्रदेशका छन् ।

त्यसअघि माघ १९ गते ललितपुर महानगरपालिका–२ सानेपास्थित अरुण थापाचोकमा २ वटा घर भाडामा लिएर अनलाइन जुवा खेलाउने १० जना भारतीय र १४ जना नेपालीसहित २४ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्ने भारतीयमा अधिकांश मध्येप्रदेश र उत्तर प्रदेशका थिए । पक्राउ परेकाहरुले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँको अनलाइन जुवा खेलाएको पाइएको कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।

ललितपुरबाट पक्राउ परेका व्यक्तिहरुको बयानको र प्राप्त सूचनाका आधारमा प्रहरीले बूढानीलकण्ठमा अवैध कारोबार गर्ने २४ भारतीयलाई पक्राउ गर्‍यो ।

फागुन ३ गते प्रहरीलाई फोन आयो । फोनमा आएको सूचना थियो बूढानीलकण्ठको आलिशान महलमा अवैध रुपमा अनलाइन (जुवा) खेलाउने काम भइरहेको छ । सूचना पाए लगत्तै प्रहरीले अनुसन्धान अघि बढयो । फागुन ५ गते राति सूचना पाएको घरमा छापामार्दा २४ जना भारतीय नागरिक २ वटा घरबाट पक्राउ परे ।

भारतीयले नेपालमा आएर अनलाइन जुवा खेलाउँदा नेपाललाई भने कुनै पनि नोक्सानी भएको छैन । नेपाली कोही पनि ठगिएका छैनन् । तर, चिन्ताको विषय के हो भने कतै काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय आपराधिक गिरोहको हब त बन्दै छैन ?

बूढानीलकण्ठ र ललितपुरमा दुईवटा घर भाडामा लिएर उनीहरुले अवैध रुपमा कार्य गरिरहेको प्रहरीले जनाएको छ । ‘दुवै घर भीईपी मान्छे बस्ने जस्ता देखिन्थे । बाहिरबाट घर हेर्दाभित्र अवैध कारोबार होला भन्ने अनुमान लगाउन सकिँदैन,’ प्रवक्ता आचार्यले भने, ‘त्यस्तो क्षेत्रमा अवैध कारोबार भएको होला भनेर हामीलाई पुष्टि गर्न सुरुमा समय लाग्यो । बुझ्दै जाँदा घर भाडामा लिएर अनलाइन जुवा खेलाउने गरेको पुष्टि भयो ।’

बुढानीलकण्ठका तीन महिना र ललितपुरमा १ महिनादेखि अनलाइन जुवा खेलाउने काम भइरहेको आचार्यको भनाइ छ ।

उनका अनुसार अन्य समूहले यो समूहलाई अनलाइन जुवा खेलाउने काम गरिरहेका थिए । नेपालमा यस्ता समूह अन्य पनि हुनुसक्ने देखिन्छ ।

उपत्यकाका आलिशान महल भाडामा लिएर अनलाइन जुवा खेलाउने समूहको नाइके प्रहरीले भेटन सकेको छैन । यस्तो समूहको नाइके प्राय: विदेशमा नै हुने गरेको प्रहरीको भनाइ छ ।

‘मूल नाइके सिनमा देखिँदैन । उ भारतमा बसेर खेलाइरहेको छ,’ आचार्यले भने, ‘नेपालमा बसेर अनलाइन गेम खेलाउने मान्छे ज्यालादारी हुन् ।’ मूल नाइके भारतीय व्यक्ति रहेको उनको भनाइ छ ।

आलीशान महलमा अवैध धन्धा

यस्ता आपराधिक गिरोहलाई नेपालामा संरक्षण गर्ने काम उपत्यकामा आलिशान महल बनाएर बस्नेहरुबाट भएको छ । प्रहरीको अनुसन्धानले पनि यसलाई पुष्टि गर्दै लगेको छ । घरधनीले धेरै भाडा पाइन्छ भनेर अवैध धन्दा चलाउनेलाई घर भाडामा दिने अनि आफू अन्यत्र कोठा भाडामा लिएर बस्ने गरेको पाइएको छ ।

केही भने घरधनी विदेशमा हुने, यहाँ घरको जिम्मेवारी लिनेले अवैध कारोबार गर्नेलाई घर भाडामा दिने गरेको पाइएको छ ।

बुढानीलकण्ठको घर त्रिभुवन विश्वविद्यालयका एक कर्मचारीको हो । उनले घर २ लाख भाडा लिने गरी सम्झौता गरेका छन् । उनी आफू कोठा भाडामा लिएर बसेका छन् ।

घर भाडा दिने सम्झौता गरे पनि आफ्नो घरमा कस्ता मान्छे बसेको छन् ? उनीहरुले के गरेर बसेका छन् ? भनेर चासो नदिनु घरधनीको कमजोरी भएको आचार्यको भनाइ छ । भाडा पाएपछि जस्ता व्यक्तिलाई दिने गरेका कारण यस्ता अवैध कारोबार फस्टाइरहेका छन् ।

यस्तै ललितपुरको दुईवटा घरका घरधनीको परिवार नै अहिले विदेशमा बस्छन् । प्रहरीका अनुसार भारतीयलाई नेपालमा ल्याउने, नेपालमा आलिशान बंगला खोज्ने, भाडाको सम्झौता गर्ने व्यक्ति पनि नेपाली नै रहेका छन् । त्यो व्यक्ति नेपाल र भारतमा बराबरी जस्तै बसोबास गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । त्यस्तो व्यक्तिले घर भाडामा लिने सम्झौता गरेको पाइएको छ । त्यस्तो व्यक्तिलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

किन रोज्छन् यस्ता घर ?

भीआईपी बस्ने जस्तो ठूलो कम्पाउण्ड भएको घरमा बस्दा धेरै मासिनको ध्यान जाँदैन । सामान्य मानिसले गएर त्यो घरको ढोला ढकढक्याउन समेत सक्दैनन् ।

ठूलो कम्पाउण्ड भएको घरमा भीआईपी मान्छे बस्छन्, उनीहरुलाई डिस्टब गर्न हुँदैन भनेर कसैले चासो दिँदैनन् । यस्ता घरमा बस्ने मानिसले आफूलाई सुरक्षित महसुस गर्छन् । त्यसकारण पनि अवैध कारोबार गर्नेहरुले धेरै भाडा भएपनि ठूला कम्पाउण्ड भएका घर लिएर बस्ने गरेको अनुसन्धानले देखाएको छ ।

प्रहरी उपरीक्षक काजी कुमार आचार्य

अर्बौंको कारोबार

यस्ता गिरोहले नेपालमा अनलाइन जुवा खेलाइरहेको भए पनि कुनै पनि नेपाली यसमा फसेका फेला परेका छैनन् । नेपाली यसबाट नठगिए पनि नेपालको भूमि आपराधिक कृयापकलाप गर्ने गिरोहले प्रयोग गररहेकोमा प्रहरी चिन्तित छ ।

अनलाइन जुवा खेलाउँदा अर्कोको कारोबार भएको छ । अनलाइन जुवा खेलाउनेले प्रयोग गर्ने खाता भारतको रहेको छ । ‘डिपोजिट हुने, पैसा निकाल्न प्रयोग हुने खाता नेपाली प्रयोग भएका छैनन्,’ एसपी आचार्यले भने, ‘खाता भारतीय छन् । यसबाट ठगिने पनि भारतीय छन् । यसबाट लाभ लिने पनि भारतीय छन् ।’

पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा ५ वटा जति अनलाइन (जुवा) खेलाउने समूह फेला परेका छन् । करिब ५ अर्बको कारोबार भएको भेटिएको छ ।

सहज इन्टरनेट

नेपालमा यस्ता आपराधिक कृयाकलाप गर्ने समूहलाई इन्टरनेट सेवा प्रदायक कम्पनीले सहजै सेवा दिने गरेका छन् । सहजै सेवा पाउँदा जुवा खेलाउने समूह हौसिने गरेका छन् ।

इन्टरनेट सेवा प्रदायकले यस्तो समूहको बारेमा अनुसन्धान गर्ने निकायलाई जानकारी दिने हो भने यस्ता आपराधिक कृयाकलाप रोक्न सकिने आचार्यको भनाइ छ । यस्ता कारण पनि आपराधिक समूहकलाई नेपालको भूभाग सहज भएको हुनसक्ने उनको तर्क छ ।

भारत छोडेर किन नेपालमा आए ?

नेपालमा अनलाइनबाट जुवा खेलाउने बढी भारतीय रहेका छन् । भारतमा अनलाइन जुवा खेलाउनेलाई सचेत सर्वसाधारणले समेत निगरानी गर्ने गर्छन् । त्यहाँका विभिन्न सेवा प्रदायक कम्पनीले पनि निगरानी गर्ने गरेका, त्यस्ता कम्पनीले प्रहरीसमक्ष सूचना दिने गरेका कारण पनि भारतभन्दा नेपाली भूभाग बढी रुचाउने गरेको पक्राउ परेकाहरुको बयान छ । नेपालमा न्यून पारिश्रमिक दिएर काम लगाउन सकिने भएर पनि नेपाल रोजेको अनुसन्धानले देखाएको छ ।

ठूलो भौगोलिक क्षेत्रमा बसेर काम गर्दा कसले के गरेको छ भनेर कसैलाई पनि सरोकार हुँदैन । आसपासका मान्छेले पनि चासो नदिने भएका कारण यस्ता काम बढेका छन् ।

काठमाडौं उपत्यकामा प्रहरी स्थानीय प्रशासनको ध्यान सहजै जान नसक्दा पनि गलत कृयाकलाप भइरहेको हुन सक्ने प्रहरीको भनाइ छ ।

समस्या कसरी गर्ने समाधान ?

यस्ता खालका समस्या समाधान गर्न स्थानीय प्रशासनले आफ्नो वडामा भएका यस्ता घर, सेल्टरलाई निगरानी बढाउनु पर्ने आचार्यको भनाइ छ ।

‘के काम भइरहेको छ, के काम गर्छन् भनेर निगरानी बढाउन आवश्यक छ,’ उनले भने, ‘इन्टरनेट सेवा प्रदायकले सूचना दिएको खण्डमा पनि यो कम हुँदै जान्छ ।’

पक्राउ परेकाहरुसँग ४२ भन्दा बढी मोबाइल, सिमकार्ड फेला परेको छ । पक्राउ परेका नेपालीले नेपाली खाता प्रयोग गरेका छन् । नेपाली खातामा सयौं पटक पैसा राख्ने, सयौं पटक निकाल्ने गर्नेलाई बैंकले पनि निगरानी गर्न आवश्यक रहेको उनी बताउँछन् ।

भारतमा अनलाइन जुवा खेलाउँदा हुने कानूनी कारबाही र नेपालमा हुने कारबाहीमा अन्तर छ । भारतमा पक्राउ परे धेरै ठूलो सजाय हुन्छ । नेपालमा प्रहरीले यस्तोमा सट्टाबाजी अनुसार कानूनी कारबाही गर्छ । बढीमा १ वर्षसम्मको कैद र १० हजार जरिवाना हुने गरेको छ । आपराधिक काम गर्नेको नजरमा यो कम भएको हुनसक्ने प्रवक्ता आचार्यको बुझाइ छ । नेपालमा कडा कानुन बनाउन सकेको खण्डका यो नियन्त्रण हुनसक्छ ।

यस्तै घरधनीलाई स्थानीय प्रशासनले करको दायरामा ल्याउनु पर्ने प्रहरीको भनाइ छ । भाडा लिए अनुसार कर उठाउने व्यवस्था गर्न सक्छ । जुन प्रयोजनलाई घर भाडामा दिएको हो त्यस अनुसार काम भइरहेको छ वा छैन भन्नेमा ध्यान दिन आवश्यक रहेको आचार्यले बताए ।

उनका अनुसार घर भाडामा दिने, अनलाइन जुवा खेल्ने, खेलाउने सबै कानूनी दायरामा आउँछन् ।

घरधनीलाई पनि प्रतिवादी बनाएर कानूनी दायरामा ल्याउने हो भने यस्ता कृयाकलाप कम हुने आचार्य बताउँछन् । प्रहरीले घरधनीलाई पनि अनुसन्धानको दायरामा ल्याउने क्रममा रहेको र केहीको अनुसन्धान भइरहेको बताए ।

‘घर भाडामा दिनेलाई पनि हामीले अनुसन्धान गरिरहेका छौं,’ आचार्यले भने, ‘हामीले २ वटा मुद्दामा घर धनीलाई अनुसन्धान गरिरहेका छौं । घरधनीले जानाजान यस्तो कार्य गरेको पाइए उहाँहरुलाई पनि कानूनी कारबाही हुन्छ ।’

साढे २ वर्षमा ११९ पक्राउ

अपराध कार्यालयले नेपालमा साढे २ वर्षमा जुवा खेलाउने कार्यमा ११९ जना पक्राउ परेका छन् । उनीहरुलाई ७ अर्ब २ करोड ४५ लाख ४२ हजार ३९ रुपैयाँ बिगे दाबी गरिएको छ ।

आर्थिक वर्ष २०७९/२०८० मा ३१ जना पक्राउ परेका छन् । ३१ जनालाई ८७ करोड ४० लाख ९ हजार २४७ रुपैयाँ बिगो दाबी गर्दै १५ वटा मुद्दा दायर भएको छ । पक्राउ पर्नेमा २८ पुरुष ३ जना महिला छन् ।

आव २०८०/०८१ मा २७ जना पक्राउ परेका छन् । २७ जनालाई १ अर्ब ४३ करोड ७४ लाख १७ हजार ४८४ रुपैयाँ बिगो दाबी गर्दै ११ वटा मुद्दा दायर गरिएको छ । पक्राउ पर्नेमा २६ पुरुष १ महिला छन् ।

आव २०८१/०८२ को ७ महिनामा ६१ जना पक्राउ गरेको छ । ६१ जनालाई ४ अर्ब ७१ करोड ३१ लाख १५ हजार ३०८ रुपैयाँ बिगो दाबी गरिएको छ । पक्राउ पर्नेमा ३५ जना भारतीय, ९ चिनियाँ र नेपाली १५ जना छन् ।

यता जिल्ला प्रहरी परिसर काठमाडौंले फागुन ६ गते बूढानीलकण्ठ नगरपालिका–२ तौलुङस्थित घर भाडामा लिएर २ अर्ब बढीको अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने भारतको उत्तर प्रदेशका ४ जना नागरिक पक्राउ परेका छन् ।