निकासी पैठारी संघद्वारा ऐन संशोधनको स्वागत



काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आफूले लामो समयदेखि माग गर्दै आएको कालोबजारी ऐन लगायत अन्य ऐनहरुमा सरकारले अध्यादेशहरुमार्फत गरेको संशोधनलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ ।

संघले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको पछिल्लो कदमबाट मुलुकमा लगानी अभिवृद्धि र अझ बढी व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

‘समयसापेक्ष र वैज्ञानिक ऐन, कानुन व्यवसायमैत्री वातावरण निर्माण र लगानी अभिवृद्धिका लागि अपरिहार्य हुन्छन् । सरकारले यो तथ्यलाई मनन गर्दै ऐन कानुनहरुमा समयसापेक्ष सुधार गरेबाट आगामी दिनमा अझ उत्साहजनक वातावरण तयार हुने अपेक्षा गर्न सकिन्छ,’ संघको विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि संघले सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै असल उद्देश्यका साथ संशोधन गरिएका प्रावधानहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

उद्योग, व्यवसायसँग सम्बन्धित ऐन कानुनमा गरिएको संशोधनबाट बजार मागमा आएको संकुचन न्यूनीकरण हुने, व्यवसायीको खस्किँदो मनोबल उकास्न बल पुग्ने र लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह हुने संघको विश्वास छ ।

‘पछिल्लो पटकको ऐन संशोधनअनुसार नियमावली र कार्यविधिहरु संशोधन गर्न र बन्न बाँकी नियमावली र कार्यविधि पनि यथाशीघ्र तयार गरी व्यवसायमैत्री ऐन, कानुन कार्यान्वयन हुने वातावरण तयार गर्न हामी आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

संसद्मा छलफलमा रहेको भन्सार विधेयक २०८० पनि उद्यमी व्यवसायीका चासोका विषयलाई सम्बोधन हुने गरी यथाशीघ्र पारित गरी कार्यान्वयन गर्न यो संघ हार्दिक अनुरोध गर्दछ ।


क्लिकमान्डु