निकासी पैठारी संघद्वारा ऐन संशोधनको स्वागत



काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले सरकारले ल्याएको कालोबजारी ऐनलगायतका अन्य ऐनमा सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ ।

संघले बिज्ञप्ती जारी गर्दै सरकारले ल्याएको अध्यादेशले मुलुकमा लगानी अभिवृद्धि हुनुका साथै व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने जनाएको छ ।

‘समयसापेक्ष र वैज्ञानिक ऐन, कानुन व्यवसायमैत्री वातावरण निर्माण र लगानी अभिवृद्धिका लागि अपरिहार्य हुन्छन् । सरकारले यो तथ्यलाई मनन गर्दै ऐन कानुनहरुमा समयसापेक्ष सुधार गरेबाट आगामी दिनमा अझ उत्साहजनक वातावरण तयार हुने अपेक्षा गर्न सकिन्छ,’ संघको विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि संघले सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै असल उद्देश्यका साथ संशोधन गरिएका प्रावधानहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

उद्योग, व्यवसायसँग सम्बन्धित ऐन कानुनमा गरिएको संशोधनबाट बजार मागमा आएको संकुचन न्यूनीकरण हुने, व्यवसायीको खस्किँदो मनोबल उकास्न बल पुग्ने र लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह हुने संघको विश्वास छ ।

‘पछिल्लो पटकको ऐन संशोधनअनुसार नियमावली र कार्यविधिहरु संशोधन गर्न र बन्न बाँकी नियमावली र कार्यविधि पनि यथाशीघ्र तयार गरी व्यवसायमैत्री ऐन, कानुन कार्यान्वयन हुने वातावरण तयार गर्न हामी आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु