लेखा समिति सभापति पत्नी अञ्जलालाई १० लाख धरौटीमा छोड्न अदालतको आदेश




विराटनगर । मोरङको धनपालथान कर्सियाको उमागौरी सहकारी ठगी प्रकरणमा ‍ संघीय संसदको लेखा समितिका सभापति ऋषीकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको छ ।

अभियोजन दार्ता भएसँगै फरार रहेकी कोइराला बुधवार कार्यालय समय खुले लगत्तै अदालतमा उपस्थित भएकी थिइन् ।

अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलशमा उनको बयान लिएर बुधवार नै भएको थुनछेकको बहसपछि १० लाख धरौटीमा छाडने आदेश दिएकोअदालतका सूचना अधिकारी हेमवहादुर बुडाथोकीले जानकारी दिए ।

यो प्रकरणमा धनपालथान ४ का पूर्वअध्यक्ष रोशन राजबंशी पुर्पक्षका लागि थुनामा छन् भने रंगेली २ का वडाअध्यक्ष सन्तलाल खवास ५ लाख धरौटीमा रिहा भएका छन् । त्यस्तै यो काण्डमा सहकारीका अध्यक्ष श्यामकुमार रौनियारसहित अझै २३ जना फरार छन् ।

२०६८ सालमा स्थापना भएको यो सहकारीमा पोखरेल पत्नी कोइराला दुई कार्यकाल सञ्चालक समिति सदस्य थिइन् । उनले २०७८ माघ ५ गते सहकारीवाट राजीनामा दिएर यस प्रकरणमा आफनो कुनै दायित्व नभएको दावी गरेकी थिइन् ।

यो सहकारीले आफना वचतकर्ताको लालपुर्जा धितोमा राखेर रुपन्देहीको आरएसडीसी लघुवित्तवाट ४ करोड २५ लाख ऋण लिएको थियो ।

२०७७ पुस २९ गते सञ्चालक समितिको बैठक बसेर थप ३ करोड ऋण लिने निणर्य गर्दा सञ्चालक समिति सदस्यको हैसियतले कोइरालाले पनि माइनुटमा हस्ताक्षर गरेको पुष्टि भएको छ । त्यसको १३ महिनापछि कोइरालाले सञ्चालक समितिबाट राजीनामा दिएकी थिइन् ।


विनोद भण्डारी