पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा भाडा समायोजन गर्न माग राख्दै मन्त्री भण्डारीलाई बुझाए ज्ञापन पत्र
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम पदार्थको देशभर ढुवानी गर्दैआएका ट्याँकरको ढुवानी भाडावापतको शुल्क समयसापेक्ष समायोजन गर्नुपर्ने माग राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघले भाडा समायोजनसहित ९ बुंदे माग राख्दै मन्त्री भण्डारीलाई ज्ञापन पत्र बुझाएको हो ।
महासंघले मागहरु समयसापेक्ष समायोजन नगरिए आगामी फागुन ७ गतेदेखि देशभर ढुवानी ठप्प पारेर आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।
महासंघका अध्यक्ष मनोज दासका अनुसार नेपाल आयल निगमबाट करारमा सञ्चालित ट्याँकरहरुको ढुवानी भाडामा वास्तविक ट्रिप संख्या यकिन गरी यर्थाथ सञ्चालन खर्च, मर्मत सम्भावर, खुराकी, तलव खर्चहरु समयसापेक्ष समायोजन गर्न माग गरिएको छ ।
यस्तै बरौनी–अमलेखगञ्जमा पाइपलाइनका कारणले ढुवानी कार्य बन्द हुने हुँदा हाल उक्त रुटमा सञ्चालित ट्याँकरलाई उचित व्यवस्थापन तथा आपूर्तिलाई सहज बनाउन मोतिहारी डिपोबाट अमलेखगञ्ज डिपोसम्म दैनिक २ सय किलोलिटर पेट्रोल आयात गरिने व्यवस्था मिलाउनुपर्ने, पाइपलाइन विस्तारका कारण ट्याँकरको कामको चाप घट्ने भएकाले ति ट्याँकरलाई इन्धन ढुवानी कार्यका लागि बिक्रेताको नाममा १ थान ट्याँकर सम्झौता नामसारी हुनुपर्ने, पाइपलाइन आएका वा आउने सम्भावित क्षेत्रमा निगमले दिने प्रतिस्थापन स्वीकृतीमा ३ः२ अनुपातमा विस्थापन स्वीकृती दिनुपर्ने, ढुवानी भाडालाई ईआरपी प्रणालीमार्फत भुक्तानी दिनुपर्नेलगायतका माग राखेर महासंघले मन्त्री भण्डारीलाई ज्ञापन पत्र बुझाएको हो ।