रवि लामिछाने पत्नी निकिताविरुद्ध पनि कास्की अदालतमा मुद्दा
कास्की । कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका विरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए । ‘अहिले अभियोगपत्र रुजुको काम भइरहेको छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ’ उनले भने ।
लामिछानेविरुद्ध फरकफरक कसुरमा सजाय माग गर्दै अभियोगपत्र दर्ता भएको हो ।
कास्की प्रहरीले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनु पर्ने सिफारिससहित गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
निकिता पनि प्रतिवादी
रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लगेसँगै लामिछानेकी श्रीमती निकिता पौडेललाई पनि एउटा मुद्दामा प्रतिवादी बनाइएको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा सम्पत्ति जफत गर्नुपर्ने पनि हुनसक्ने भएकाले श्रीमान्लाई प्रतिवादी बनाउँदा श्रीमती वा श्रीमतीलाई प्रतिवादी बनाउँदा श्रीमान् स्वत: प्रतिवादी कायम हुने व्यवस्था अनुसार निकितालाई पनि प्रतिवादी बनाइएको जनाइएको छ ।