एनपीएल : चितवनले जनकपुरमाथि जित निकाल्दा विराटनगर र पोखरा उपाधि होडबाट बाहिर



काठमाडौं । चितवन राइनोजले जनकपुर बोल्ट्समाथि सहज जित निकाल्दा पोखरा एभेन्जर्स र विराटनगर किङ्स नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि होडबाट बाहिरिएका छन् ।

शनिबार भएको खेलमा चितवनले जनकपुरलाई ३२ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १४८ रन बनायो ।

जनकपुरका लागि जिम्मी निसमले ६३ रनको लक्ष्य दिएको छ । २४ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे ।
जनकपुरका लागि आसिफ शेखले २३ रन जोडे ।

चितवनका लागि सोहिल तनविर, रिजन ढकाल र कुशल मल्लले २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो ।

चितवनका लागि कप्तान मल्लले ७२ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ३ चौका र ७ छक्का प्रहार गरे । चितवनका लागि रवी बोपराले ४४ रन बनाए ।

जनकपुरका लागि बलिङमा ललितनारायण राजवंशीले २ विकेट लिए । त्यस्तै जिम्मी निशम, हर्श ठाकेर र मोहम्द मोसिनले १–१ विकेट लिए ।

आजको खेलमा जित निकाल्दै चितवनले प्लेअफको सम्भावना झनै बलियो बनाएको छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको टोली हो । जनकपुर प्रतियोगितामा ७ खेल खैल्दै १० अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

आजको खेलमा जित निकालेको चितवन ७ खेलबाट ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।


क्लिकमान्डु