वीरगञ्जबाट डिजेल आयात घट्यो



पर्सा । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात ९.४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

डिजेल आयात घटेसँगै राजस्व पनि १५.१६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा २१ अर्ब ८४ करोड ८ लाख ७६ हजार रुपैयाँको २ लाख ४६ हजार ७ सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने ३० अर्ब १७ करोड ७६ लाख ४८ हजार रुपैयाँको डिजेल आयात भएको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताए । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने, ‘सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।’

त्यसैगरी, चालु आवको चार महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजार रुपैयाँको १ लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजार रुपैयाँको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।


क्लिकमान्डु