बिटक्वाइनको मूल्य १ लाख नाघ्यो, एक महिनामै ४७% वृद्धि



एजेन्सी । नयाँ र परिस्कृत मुद्राको रुपमा प्रयोगमा आउन थालेको बिटक्वाइनको अन्तर्राष्ट्रिय बजार मूल्य १ लाख अमेरिकी डलर नाघेको छ । बिहीबार बिहानको तथ्यांक बिटक्वाइन १ लाख ३ हजार अमेरिकी डलरमा कारोबार भइरहेको देखिन्छ ।

बुधबारको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको बताइएको छ । पछिल्लो महिनामा बिटक्वाइनको मूल्य उच्च रुपमा वृद्धि भइरहेको छ ।

क्रिप्टोकरेन्सीलाई प्रोत्साहन गर्ने डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि बिटक्वाइनको मूल्य बढेको पनि बताइन्छ । यपटक बिटक्वाइनसँगै क्रिप्टोकरेन्सीका अन्य मुद्राहरु इथरियम लगायतको पनि मूल्य बढेको छ ।

त्यसो त ट्रम्प निर्वाचित भएलगत्तै बिटक्वाइनको मूल्य ह्वात्तै बढेको थियो । यसबीचमा एक महिनामै बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशतले वृ‌द्धि भएको देखिन्छ । विश्वका अधिकांश देशमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सीलाई ट्रम्पले भने प्रोत्साहन गर्दैआएका छन् ।

हालै मात्र सेक्युरिटीज एन्ड एक्सचेन्ज आयोगको अध्यक्षमा पल एटकिन्सलाई नियुक्त गरेपछि पनि बिटक्वाइनको मूल्य थप उचाइमा पुगेको बताइन्छ । जवकि पलले अमेरिकामा क्रिप्टोकरेन्सीमैत्री नीति अवलम्वन गर्ने धेरैको अपेक्षा छ ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि नै अधिकांश क्रिप्टो कारोबार गर्नेहरु उत्साही देखिएका छन् । जवकि ट्रम्पले चुनावी भाषणको क्रममा अमेरिकालाई बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । क्रिप्टोकरेन्सीलाई नेपाललगायत थुप्रै देशहरुमा भने गैरकानुनी नै मानिन्छ ।


क्लिकमान्डु