‘व्यवसायीहरुको आरोप-प्रत्यारोपले बजार अनुगमनमा समस्या’
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या भएको बताएका छन् ।
उद्योग वाणिज्य संघ काठमाडौंले बजार अनुगमनका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन् ।
पानी उत्पादकले दुग्ध व्यवसायी, दुग्ध व्यवसायीहरुले पानी व्यवसायीहरुलाई र पानी उत्पादकहरुले सिमेन्ट लगायतका व्यवसायीहरुलाई दोष देखाउँदा बजार अनुगमन प्रभावित भएको उनको भनाइ थियो । एक व्यवसायीहले अर्को व्यवसायीलाई आरोप लगाउँदा विभागले कसलाई कारबाही गर्ने र अनुगमन गर्ने अन्योल सिर्जना हुने गरेको महानिर्देशक पौडेलले बताए ।
उनले व्यवसायीहरुबीच आरोप-प्रत्यारोपले अनुगमन र स्वच्छ बजार प्रणालीलाई असर पर्ने गरेको बताएका थिए । आरोप-प्रत्यारोपले स्वच्छ बजारलाई प्रभावित बनाउँदै नियमन निकायहरुलाई कमजोर बनाउने पनि उनको भनाइ थियो ।
दशैं तिहारमा ४० फार्मलाई अनुगमन गर्दा दुई/तीन वटा फार्मलाई मात्रै कारबाही गरेको भन्दै विभागले अनुगमन गरेर व्यवसायीहरुलाई कारबाही गर्ने नियत नभएको पौडेलले बताए । उनले विभागले व्यवसायीहरुलाई कारबाही गरेर संख्या बढाउने र राजश्व संकलन गर्ने उद्देश्य नभएको पनि उनको दाबी थियो ।
महानिर्देशक पौडेलले भनेका छन्, ‘वाणिज्य विभागमा अहिलेसम्म बस्दाको अनुभव विभिन्न क्षेत्रका व्यवसायीहरुसँग कुरा गरिन्छ । हरेक क्षेत्रमा व्यवसायीहरुले एकले अर्कोलाई दोषी देखाउने काम गर्नुभएको छ । कस्मेटिक व्यवसायीहरु आएर दुग्धमा कति ठूलो फल्ट छ । किन अनुगमन गर्नु हुँदैन । विभागले दुग्ध व्यवसायीहरुलाई बोलायौं । उनीहरु भन्छन् । पानीको जार यति धेरै फोहोर छ । पानीको जारमा फोहोरको लेदो भेटिएको छ । विभाग के हेरेर बस्नुभएको छ । त्यसलाई कारबाही गर्नुस् भन्नुहुन्छ । पानी उत्पादक संघलाई बोलाएर ल्याइयो । पानी उत्पादकहरु भन्छन् सिमेन्ट यति धेरै फटाहा भएको छ । एमआरपी नराखी बेच्छ । हामीले एमआरपी राखेका छौं । सबैतिरबाट यस्तै कुरा आउँछ । अब विभागले कसलाई गर्ने अनुगमन ?’
यसरी एकले अर्कोलाई आरोप लगाइरहने प्रवृत्तिले कसैलाई पनि हित नगर्ने उनले बताएका थिए । बरु सबै मिलेर स्वच्छ बजार खोज्नुपर्ने उनको भनाइ थियो । ‘दशैं तिहारमा ४० फर्मलाई अनुगमन गरेका छौं । त्यसमा दुई/तीन वटालाई मात्रै कारबाही गरेका छौँ । विभागले अनुगमन गरेर कारबाही गर्ने नियत होइन । विभागले व्यवसायीहरुलाई कारबाही गरेर संख्या बढाउने र राजश्व बढाउने उद्देश्य होइन । व्यवसाय राम्रो चले आफैँ राजश्व संकलन हुन्छ,’ पौडेलले भने ।
उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले गर्ने अनुगमन तथा नियमनमा निजी क्षेत्र नकारात्मक नभएको बताए । उनले सरकारले निजी क्षेत्रले अफ्ठ्यारो स्थितिमा गरेको लगानीलाई बुझेर कानुनी कारबाही गर्नु आवश्यक रहेको बताए ।