धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भन्छन्- जिम्मेवारी दिने प्रधानमन्त्रीप्रति आभारी छु, निष्पक्ष भएर काम गर्छु
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पुँजी बजारको विकास र लगानीकर्ताको हितका लागि निष्पक्ष भएर काम गर्ने बताएका छन् ।
मन्त्रिपरिषदबाट धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएपछि क्लिकमान्डुसँग विषेश प्रतिक्रिया दिँदै श्रेष्ठले आफूलाई विश्वास गरेर यतिठूलो जिम्मेवारी दिने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभारी भएको बताए ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युले मलाई विश्वाश गरेर यति ठूलो जिम्मेवारी दिनुभएको छ, प्रधानमन्त्री र नेपाल सरकारप्रति आभारी छु’ श्रेष्ठले क्लिकमान्डुसँग भने- ‘म अब निष्पक्ष र पारदर्शी भएर काम गर्छु । आम लगानीकर्ताको हित र पुँजी बजारको दीगो विकास नै मेरो मुख्य एजेन्डा हुनेछ ।‘
पुँजी बजारको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए ।
‘नेपालको पुँजी बजारलाई थप मजबुत बनाउन केही महत्वपूर्ण कामहरु गर्नुपर्ने छ, मेरो सम्पूर्ण ध्यान यसैमा केन्द्रित हुनेछ’ उनले भने- ‘सबैको रचनात्मक सल्लाह, सुझाव र टिप्पणीलाई आत्मासाथ गरेर अघि बढ्छु ।‘
आफ्नो कार्यकालमा नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउने उनको प्रतिवद्वता थियो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेसँगै १० महिनादेखि रिक्त रहेको बोर्डले नयाँ अध्यक्ष पाएको छ ।
धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आइतबार सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो।