भुटान लगायतका देशले क्रिप्टोको बिक्री गरेर अर्बौं डलर कमाए, नेपालमा प्रतिबन्ध

कुन देशमा क्रिप्टोकरेन्सीको अवस्था कस्तो ?



काठमाडौं । २००८ मा जापानबाट सिर्जना भएको क्रिप्टोकरेन्सी पछिल्लो समय विश्वभर लोकप्रिय बन्दैगरेको छ । मानिसहरुले यसको प्रयोग गरेर अर्बौं रुपैयाँ आम्दानी मात्रै गरेका छैनन् । थुप्रै देशहरुले यसको उपयोग गरेर आफ्नो ऋण नै घटाउन पनि सम्भव भएको छ । तर नेपालसहित विश्वका कतिपय देशमा यो गैरकानुनी हो ।

क्रिप्टोकरेन्सीका विभिन्न मुद्रामध्ये बिटक्वाइनको भने झनै धेरै उपयोग बढिरहेको छ । क्रिप्टोकरेन्सी बजारले मूलत दुई तरिकाले पैसा दिने गर्छ । एउटा भर्चुअल मुद्रा बनाएर बेच्ने अर्को क्रिप्टोकरेन्सीको माइनिङ गर्ने । यी दुबै तरिकाबाट कुनै पनि देशले मनग्य आम्दानी गरिरहेका छन् ।

कतिपय अवस्थामा यसबारे विवाद र विरोभाष कुराहरु आए पनि विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले नै यसलाई सदुपयोग गरिरहेको छ ।

यतिसम्म की ‘जी २० राष्ट्र’मा पर्ने अधिकांश देशहरुले यसलाई अवलम्बन गर्दैआएका छन् । यद्यपि कतिपय अवस्थामा भने यसको नियमन तथा व्यवस्थापनको विषय पेचिलो बन्ने गरेको छ । तैपनि कतिपय साना देशहरुले क्रिप्टोको उपयोग गरेर अर्बौं डलर कमाइरहेका छन् । भुटानले यसै साता क्रिप्टो बिक्री गरेर अर्बौं रुपैयाँ आम्दानी गरेको छ ।

मुद्राको आविष्कार हुनुभन्दा पहिले बाटर सिस्टमबाट आवश्यकता पूर्ति गरिन्थ्यो भने विस्तारै गाईवस्तुको लेनदेन गरेर आफ्नो सम्पत्ति वा पूँजी बढाउने काम गर्न थालियो । त्यसपछि धातु वा शिक्काहरुको प्रयोगबाट मान्छेहरुले पुँजी संकलन गर्ने काम गरे । त्यसपछि मात्रै कागजी पैसाको आविष्कार हुन थालेको इतिहास छ ।

पछिल्लो समय डिजिटल करेन्सी अर्थात अनलाइनको माध्यमबाट ठूला रकमहरु पनि लेनदेख गर्न सम्भव भएको छ । र विज्ञहरुले कागजको दुनियाँ अन्त्य हुने प्रक्षेपण गरिरहेका बेला अब क्रिप्टोकरेन्सीको समय आउने पनि दावी गरिँदैआएको छ । त्यसो त ठूलो अर्थतन्त्र भएका देशहरुले यसलाई सुरक्षित रुपमा प्रयोग गरिरहेका छन् । कतिपय मानिसहरु क्रिप्टोको पैसाबाटै फोर्ब्सको डलर अर्बपति सूचीमा पर्न सफल भएका छन् ।

यस क्रममा भविष्यको विश्वव्यापी वित्तीय व्यवस्थामा क्रिप्टोकरेन्सीले ओगट्नसक्ने प्रमुख हिस्सालाई कसैले पनि इन्कार गर्न सकिरहेको छैन । मूलत यो लेनदेनको अत्याधुनिक उपाय हो । र जसले हालको वित्तीय संरचनालाई नै यसले उल्ट्याउनसक्ने आकलन गर्न थालिएको छ ।

यद्यपि यसका लगानीकर्ता, प्रयोगकर्ता, उपभोक्ता वा यसको बजारका विषयमा कतिपय नकारात्मक वा विवादास्पद कुराहरु पनि आउने गरेका छन् । कतिपय अध्ययनहरुले देखाएका छन् कि यसलाई इन्कार गर्ने भन्दा पनि थुप्रै देशहरुले यसलाई कसरी नियमन गर्ने भन्नेबारे चासो र चिन्ता गरिरहेका छन् ।

२०२४ को मध्यतिर एटलान्टिक काउन्सिलले गरेको एक अध्ययन अनुसार जी २० मा पर्ने र विश्वको ५७ प्रतिशत जीडीपी ओगटिरहेका १२ देशहरुमा क्रिप्टो करेन्सी पूर्ण रुपमा खुला छ । र सबै जी २० देशहरुमा नियमनहरु विचाराधीन अवस्थामा छ ।

यसैबीच २०२४ को वर्ष क्रिप्टोकरेन्सीका लागि कठिन वर्ष पनि भनिएको छ । जवकि अष्ट्रेलिया, बेलायत, ब्राजिल र दक्षिण कोरियाले क्रिप्टोका लागि नयाँ नीति ल्याउने घोषणा गरेका छन् । र समीक्षा गरिएका देशहरुमध्ये ७० प्रतिशत देशहरु आफ्नो नियामक ढाँचामा पर्याप्त परिवर्तन ल्याउने प्रक्रियामा छन् ।

यस्तै उदीयमान बजार भएका देशहरु र उन्नत अर्थतन्त्र भएका देशहरु अझै पनि व्यापक नियमन र निरीक्षणमा सुस्त नै देखिएको बताइन्छ । यस्तै ६० देशहरूमध्ये १९ वटाले मात्रै कर, उपभोक्ता संरक्षण र इजाजतपत्र सम्बन्धी नियमहरु लागू गरेको एटलान्टिक काउन्सिलको अध्ययनले देखाएको छ । तर उदीयमान अर्थतन्त्र भएका १३ प्रतिशत देशहरुले माथि उल्लिखित सबै नियमहरु अवलम्बन गरेका छन् ।

एटलान्टिकको उक्त अध्ययन अनुसार ६० देशहरुमध्ये ३३ देशहरुमा क्रिप्टोकरेन्सीलाई वैधानिक मानिएको छ । साथै १७ देशमा आंशिक रुपमा प्रतिबन्ध छ भने १० वटामा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

यद्यपि क्रिप्टो अवलम्बन गर्ने सम्भावनाबारे उच्च रहेको बताइएको छ । यतिसम्म कि आंशिक र पूर्ण रुपमा प्रतिबन्ध लगाइएका देशहरुमा पनि क्रिप्टोकरेन्सी अलवम्बन गर्ने दर भने उच्च रहेको अध्ययनले देखाएको छ । अर्थात् हालसम्म लगाइएका प्रतिबन्धहरु प्रभावकारी नरहेको अध्ययनले सुझाव दिएको छ ।

उक्त संस्थाले अध्ययन गरेका ९० प्रतिशतभन्दा धेरै देशहरुमा सक्रिय केन्द्रीय डिजिटल मुद्रा परियोजनाहरु छन् । जसले देशहरुले सीबीडीसी पत्ता लगाउनुका साथै क्रिप्टोकरेन्सी नियमहरुलाई अनुकुल गर्दै अद्यावधिक गर्छन् ।

कस्तो छ नेपालको कानुनी व्यवस्था ?

नेपालमा भने क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाइएको छ । यद्यपि कतिपय नेपालीहरुले विदेशमा बसेर वा नेपालबाटै पनि यसको कारोबार गर्ने गरेको पाइन्छ । यसबीचमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले क्रिप्टोकरेन्सी कारोबारको अभियोगमा दर्जनौं मानिसलाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ ।

नेपाल प्रहरीका अनुसार गत वर्ष मात्रै क्रिप्टोकरेन्सीबाट ९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको पाइएको छ । यसरी क्रिप्टोकरेन्सी कारोबारमा संलग्नहरुविरुद्ध राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलनको मुद्दा दायर गर्ने गर्छ । यद्यपि क्रिप्टोकरेन्सीको प्रत्यक्ष कारोबार नेपालबाटै भएको नदेखिँदा कारोबार गर्ने मानिसहरुविरुद्ध आवश्यक प्रमाण नपुगेपछि उनीहरुले अदालतबाट सफाइ पाउने गरेको प्रहरी बताउँछ ।

राष्ट्र बैंकले के गर्छ ?

राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा लगानी नगर्न र तथा यस्तो कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गर्दैआएको छ। साथै राष्ट्रबैंकले क्रिप्टोकरेन्सी बजारमा लगानी भए नभएको विषयमा निगरानी गर्दैआएको छ। यसबारे समयसमयमा विभिन्न सचेतना अभियान पनि सञ्चालन गर्दैआएको छ ।

राष्ट्रबैंकले यसअघि क्रिप्टो कारोबार नगर्न चेतावनी दिँदै जारी गरेको सूचनामा भनिएको थियो, ‘नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेनसीहरुको कारोबार, प्रयोग/ माइनिङ गैरकानुनी रहेकोले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङसम्बन्धी कार्य नगर्नु/नगराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ ।’

यसबाहेक राष्ट्रबैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि क्रिप्टो कारोबार नगर्न पत्र लेख्दै आएको जनाएको छ । यसैगरी क्रिप्टोकरेन्सीमा भइरहेको सम्भावित लगानी र त्यसबाट विभिन्न व्यक्तिले गरेको आम्दानीबारे राष्ट्रबैंकले सूचना संकलन गरिरहेको राष्ट्रबैंकका उच्च अधिकारीहरु बताउँछन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना सङ्कलनका लागि राष्ट्रबैंकले वित्तीय जानकारी एकाइ गठन गरेको छ ।

साथै यसको कारोबारबारे अनुसन्धान गर्ने अन्य निकायलाई पनि राष्ट्रबैंकले आवश्यक सूचना र तथ्यांक दिने गरेको बताइन्छ । विदेशमा रहेका नेपालीहरुले पनि क्रिप्टो कारोबार गरेको अवस्थामा उनीहरुले पठाउने रेमिटेन्स पनि रोकिदिने गरेको राष्ट्रबैंकका अधिकारीहरुको भनाइ छ ।

कुनै व्यक्ति वा कम्पनीले क्रिप्टो कारोबार गरेको पाइए विदेशी मुद्रा विनिमय सम्बन्धी कानुन आकर्षित हुन्छ । सोही कानुन अनुसार उनीहरुलाई अवस्था हेरिकन ३ वर्ष कैद वा बिगोको ३ गुणासम्म जरिवाना गर्नसक्ने बताइन्छ ।

कानुनी अवरोधका बावजुद नेपालीहरुले अप्रत्यक्ष रुपमा क्रिप्टो कारोबार गरिरहेको पाइन्छ । सामान्यतया नेपालीहरु भीपीएन प्रयोग गरेर यसको कारोबार गर्दैआएको प्रहरी भनाइ छ। जसले गर्दा यसको कारोबार कहाँबाट कसरी भइरहेको भनेर ठ्याक्कै पत्ता लगाउन मुस्किल हुने गरेको विज्ञसहित सरकारी उच्च अधिकारी नै बताउने गर्छन् ।

राजस्व अनुसन्धान विभागका अनुसार नियमनकारी निकायको आँखा छल्न क्रिप्टो कारोबारीहरुले फरक फरक व्यक्तिका नाममा खाता खोलेर उक्त रकम कारोबारीले नै अप्रत्यक्ष रुपमा लिने गरेको पाइन्छ । यसबीचमा विभिन्न समूहहरुले संगठित रुपमा नै कारोबार गर्ने गरेको नियमनकारी निकायहरुको भनाइ छ ।

पहिले पैसा ल्याउन र लैजान हुन्डी कारोबार हुने गरे पनि पछिल्लो समय क्रिप्टो कारोबार हुने गरेको भन्दै सिआईबीका अनुसार गैरकानुनी भुक्तानी वा सम्पत्ति शुद्धीकरणको लागि क्रिप्टोको प्रयोग भएको देखिन्छ । यस क्रममा विदेशमा बस्ने नेपाली र विदेशीहरूको सहयोग र संलग्नतामा क्रिप्टो कारोबार हुने गरेको सीआईबीले बताउने गरेको छ ।

यसवाहेक सुनको अवैध कारोबार गर्नेहरुले पनि भुक्तानीका लागि क्रिप्टोको प्रयोग गर्ने पाइएको प्रहरीको भनाइ छ । क्रिप्टो विक्रीबाट पैसा ल्याउन कठिन हुँदा सुन जस्ता वस्तु किनेर नेपाल भित्र्याउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । यसैगरी क्रिप्टो कारोबार डलर मुद्रामा हुने भएकाले डलर कार्डको प्रयोग गरेर पनि यसको कारोबार हुने बताइन्छ ।

सीआईबीले यस्ता कारोबार र शंकास्पद व्यक्तिहरुमाथि निगरानी राखिरहेको बताउने गरेको छ । यस्तै विदेशमा रहेर अस्वभाविक रुपमा कारोबार गर्ने नेपालीहरु पनि प्रहरीको निगरानीमा परिरहेको बताइन्छ ।

कुन देशमा क्रिप्टोकरेन्सीको अवस्था कस्तो छ ?

मेक्सिको: आंशिक प्रतिबन्ध
नेपाल: पूर्ण प्रतिबन्ध
कम्बोडिया: खुला
युक्रेन: खुला
हंगेरी: खुला
मलेसिया: खुला
अमेरिका: खुला
चिली: खुला
चेक रिपब्लिक: खुला
नेदरल्यान्ड्स: खुला
तान्जानिया: आंशिक प्रतिबन्ध
सिंगापुर: खुला
भारत: खुला
जापान: खुला
कोलम्बिया: आंशिक प्रतिबन्ध
बंगलादेश: सामान्य प्रतिबन्ध
पेरु: खुला
थाइल्यान्ड: आंशिक प्रतिबन्ध
इक्वेडर: आंशिक प्रतिबन्ध
क्रोएसिया: आंशिक प्रतिबन्ध
ट्युनिसिया: सामान्य प्रतिबन्ध
आयरल्यान्ड: खुला
डेनमार्क: खुला
इरान: आंशिक प्रतिबन्ध
चीन: सामान्य प्रतिबन्ध
क्यानडा: खुला
फिलिपिन्स: खुला
बोलिभिया: सामान्य प्रतिबन्ध
बेलारुस: खुला
रुवान्ड: आंशिक प्रतिबन्ध
रुस: आंशिक प्रतिबन्ध
युके: खुला
जर्मनी: खुला
ताइवान: आंशिक प्रतिबन्ध
इजिप्ट: सामान्य प्रतिबन्ध
टर्की : खुला
रोमानिया: खुला
जिम्बावे: खुला
इन्डोनेसिया: आंशिक प्रतिबन्ध
जर्जिया: खुला
घाना: आंशिक प्रतिबन्ध
ब्राजिल: खुला
नाइजेरिया: आंशिक प्रतिबन्ध
अल्जेरिया: सामान्य प्रतिबन्ध
मोरक्को: सामान्य प्रतिबन्ध
स्पेन: खुला
साउदी अरेबिया: सामान्य प्रतिबन्ध
दक्षिण अफ्रिका: खुला
पोल्यान्ड: खुला
केन्या: खुला
दक्षिण कोरिया: आंशिक प्रतिबन्ध
अष्ट्रेलिया: खुला
माल्टा: खुला
पाकिस्तान: सामान्य प्रतिबन्ध
इटाली: खुला
भियतनाम: आंशिक प्रतिबन्ध
डोमिनिकन रिपब्लिक: आंशिक प्रतिबन्ध
फ्रान्स: खुला
अर्जेन्टिना: आंशिक प्रतिबन्ध
इजरायल: खुला


क्लिकमान्डु