सौर्य ऊर्जा उत्पादनको बोलकबोलमा सेटिङको आरोप, प्रक्रिया रोक्न अदालतको आदेश
काठमाडौं । सौर्य ऊर्जा उत्पादनको बोलकबोलमा सेटिङको आरोप लागेको छ ।
नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि निकालेको बोलकबोलमा सेटिङ भएको भन्दै सस्टेनेबल इनर्जी भेन्चर्स प्रालि र याम्ब्लिङको जेभी पाटन उच्च अदालत पुगेको थियो । कार्तिक २७ गते रिट दर्ता भएको थियो ।
प्राधिकरणले गत कात्तिक २६ गते बोलकबोलमा छनोट भएका ६३ कम्पनीको सूची सार्वजनिक गरेको थियो । दिउँसो १२ बजेसम्म मात्रै बोलकबोल खुल्ला गर्ने सूचना भए पनि सिस्टममा समस्या आएको भन्दै दिउँसो ३ बजेसम्मका लागि समय थपिएको थियो ।
‘१२ बजेपछि बिड गर्नेहरु मात्रै छनोटमा परेका छन् यसले सेटिङमा समय थपिएको पुष्टि गर्छ,’ दिउँसो १२ बजेअघि बोलकबोल गरेका एक ऊर्जा उद्यमीले क्लिकमान्डुसँग भने- ‘हामीले नियम र कानूनअनुसार बिड हाल्यौं परेन । सेटिङ गर्नेहरुले पाए । यसमा ठूलै चलखेल भएको छ ।’
बोलकबोलमा सेटिङ भएको भन्दै सस्टेनेबल इनर्जी भेन्चर्स प्रालि र याम्ब्लिङको जेभीले पाटन उच्च अदालतमा दायर गरेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले सोमबारका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
पाटन उच्च अदालतका शाखा अधिकृत अर्जुन प्रसाद आचार्यका अनुसार प्राधिकरण र सार्वजनिक खरिद अनुगमन कार्यालयले गैरकानुनी सूचना प्रकाशन गरेको भन्दै परेको रिटमा अदालतले अल्पकालीन आदेश जारी गरेको हो ।
बोलकबोल पेश गर्ने म्याद थप गरेको भन्दै रिट निवेदनमा केन्द्रिय कार्यालय रहेको नेपाल विद्युत प्राधिकरण, नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभाग तथा सार्वजनिक खरिद अनुगमन कार्यालय केसरमहल काठमाडौँलाई विपक्षी बनाइएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश नारायण प्रसाद रेग्मीको एकल इजलासले सौर्य उर्जाको बोलकबोलको नजिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशले निरन्तरता पाउने/नपाउने विषयमा छलफल गर्न बोलाएको छ । सोमबार उच्च अदालत पाटनमा अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने/नपाउने विषयमा छलफलको सुनवाइ हुनेछ ।
विद्युत प्राधिकरणले सोलारको २२०० मेगावाटको ठेक्का निकालेको थियो । जसबाट करिब १००० मेगावाटको बिजुली गर्ने पुन: ठेक्का निकालिएको हो । ९६० मेगावाटका लागि ६३ वटा कम्पनीले पाएका छन् ।
न्युनतम ५ मेगावाटदेखि ५० मेगावाटसम्मका परियोजनाहरु छन् । नेपालका अधिकांश जलविद्युत् आयोजनाहरु नदी प्रवाहमा आधारित छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशतभन्दा तल झर्छ । सोही कारण जडित क्षमता ३००० मेगावाट पुगेको भएपनि १५०० मेगावाटको माग पूरा गर्न भारतबाट ६०० मेगावाटसम्म आयात भइरहेको छ ।
गत हिउँदमा भारतले प्रतिस्पर्धी दरबाट सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ) मात्रै खरिद गर्न अनुमति दिएको थियो । भारतले दिउँसो मात्रै बिजुली दिएपछि प्राधिकरणलाई व्यवस्थापनमा हम्मे-हम्मे परेको थियो । सोही कारण पीक आवरमा औद्योगिक क्षेत्रको लोड काटिदिएको थियो ।
जलवायु परिवर्तनको असर जलविद्युत् क्षेत्रमा पर्न थालेका कारण केहि जलविद्युत आयोजनाहरु १० प्रतिशत क्षमतामा मात्रै चलेका थिए ।
जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नका लागि ७/८ वर्ष लाग्ने अवस्था छ । तर बिजुलीको माग अहिले नै पूरा गर्नुपर्ने अवस्था छ । सोलारका आयोजना निर्माण थाले १ देखि २ वर्षमा प्रणालीमा बिजुली आइपुग्छ ।
दिउँसो हुने माग सोलारबाट र बिहान, साँझ अर्ध जलाशय र जलाशययुक्त जलविद्युत आयोजना चलाउन चलाउने योजना छ ।
नेपालमा १०० मेगावाटको कुलेखानी बाहेक जलाशययुक्त जलविद्युत् आयोजना छैन । १४० मेगावाटको तनहु जलाशययुक्त जलविद्युत् आयोजना निर्माणाधीन अवस्था छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी अर्ध-जलाशयुक्त जलविद्युत् आयोजनामा समेत अहिले बाढीले क्षति पुर्याएर क्षत विक्षत बनाएका कारण अहिले पावर हाउस बन्द छ । ऊर्जा सुरक्षाका लागि सम्मिश्रणमा परिवर्तन गरेर प्राधिकरणले सोलारको हिस्सा बढाउन लागेको हो ।