मन्त्रिपरिषद्को निर्णय नै कार्यान्वयन गरेनन् कुलमानले, ठूला ११ उद्योगमा अझै लाइन जोडिएन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ११ ठूला उद्योगमा अझै लाइन जोडेको छैन ।

प्राधिकरणले मंगलबार सबै उद्योगमा लाइन जोड्ने निर्णय गरेपनि ५ मेगावाटभन्दा बढी बिजुली खपत गर्ने उद्योगमा लाइन जोडेको छैन् । स्रोतका अनुसार हुलास स्टील, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, त्रिवेणी स्पेनिङ मिल्स, अशोक स्टील, जगदम्बा स्टीलगायतमा अझै बिजुली जोडेको छैन । एक उद्योगीका अनुसार ११ उद्योगमा अझै लाइन जोडिएको छैन ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । मंगलबार बसेको विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पनि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने भनिए पनि अझै प्राधिकरणले लाइन जोडेको छैन ।

अधिकांश उद्योगमा लाइन जोडिसकेको दाबी गरेको प्राधिकरणले ठूला उद्योगी लाइन नजोडेको हो । उद्योगी र प्राधिकरणबीचको विवादमा अग्र पंक्तिमा देखिएका उद्योगीहरुको लाइन नजोडिएको हो । लोड ब्यालेन्स गरिरहेको भन्दै प्राधिकरणले लाइन जोडेको छैन ।

डेडिकेटेड ट्रंकलाइनको महसुल नउठाइ उद्योगहरुमा विद्युत जोड्न सरकारको निर्देशनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले टिओडी मिटरको बिलको आधारमा १५ दिनभित्र डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल गर्न र २४ घण्टाभित्र बिजुली काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध मंगलबार अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका थिए ।

रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।


क्लिकमान्डु