पोखरा विमानस्थलमा १७ महिनापछि चीनबाट दोस्रो अन्तर्राष्ट्रिय उडान
काठमाडौं । पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १७ महिनापछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । विमानस्थल सञ्चालनमा आएको झन्डै २ वर्षको अवधिमा दुईवटा मात्रै अन्तर्राष्ट्रिय उडान भएका छन् । १७ महिनापछि बिहीबार दोस्रो उडान भएको हो ।
यसअघि चीनको सिचुवान एयरलाइन्सले २०८० असारमा पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । बिहीबार चीनको कुनमिङ विमानस्थलबाट सिचुवान एयरलाइन्सकै विमान पोखरामा अवतरण गरेको छ। १३४ यात्रु लिएर आएको एयर बस पोखरामा दिउँसो २:४० मा अवतरण भएको हो ।
यसपटक पोखरामा हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडीसहित प्रतिनिधिहरू आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीदेखि सञ्चालनमा आए पनि उडान भने अपेक्षा अनुसार भएका छैनन् ।