उच्च ज्वरो आएपछि प्रधानमन्त्रीको डेंगी परीक्षण, दिनभर बालुवाटारमै आराम



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्वस्थ भएपछि मंगलबार दिनभर आराम गरिरहे । उनलाई उच्च ज्वरो आएपछि डेंगी परीक्षण गरिएको थियो ।

तर डेंगी नभएको भेटिएपछि उनले अत्यावश्यक बाहेक दिनभरका भेटघाटका कार्यक्रम पनि रद्द गरेका थिए । बालुवाटारमै चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेर नियमित औषधि सेवन गरेर आराम गर्न सुझाव दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।

पहिले नै भेटघाटको समय लिएर बालुवाटार पुगेका कतिपय कार्यकर्ताहरुलाई पनि प्रधानमन्त्रीले स्वास्थ्य समस्याका कारण भेट नगरिकन फर्काएका थिए । यतिमात्रै नभएर मंगलबार दिउँसो अचानक उनी बिरामी परेपछि बालुवाटारमा भेट्न गएका कार्यकर्ताहरुमाझ केहीबेर त खैला र चिन्ता व्यापक थियो ।

देशका अधिकांश जिल्लामा डेंगीले ठूलो संख्यामा मानिसहरु बिरामी भइरहेका बेला प्रधानमन्त्रीलाई पनि डेंगी भएकोमा सहयोगी र कार्यकर्ताको अनुहारमा चिन्ता देखिएको थियो ।

परीक्षण नगर्दासम्म अधिकांशले प्रधानमन्त्रीलाई डेंगी लागेको आशंका गरिरहेका थिए । किड्नी ट्रान्सप्लान्ट गरेपछि नियमित औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीलाई डेंगी लागेको आशंकासँगै उनका नजिकका कार्यकर्ता र सहयोगीहरु चिन्तित थिए ।

यससँगै नेपाली कांग्रेसका शीर्ष नेताहरुसहित मन्त्रीहरु साथै एमालेका अन्य नेताहरुले पनि फोन गरेर उनको स्वास्थ्य अवस्थाबारे चासो राख्दै चिन्ता व्यक्त गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले फोनमा पनि अति कम मात्रै बोल्नुका साथै सीमित व्यक्तिसँग मात्रै कुरा गरेका छन् ।

यसबीचमा कतिपय कार्यकर्ता र सञ्चारमाध्यमले भने उनलाई डेंगी भएको हुनसक्ने आशंकामा गम्भीर अवस्था पनि भनेर प्रचार गरेका थिए । तर परीक्षणपछि सामान्य रुपमा प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभ गरिरहेको उनको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु