पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप: प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौं । सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा पोखरामा रास्वपाका कार्यकर्ताहरुले मंगलबार पनि प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा रास्वपाका कार्यकर्ताहरु र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै ७ जनालाई पक्राउ समेत गरेको छ ।
लामिछानेलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी गरिरहँदा रास्वपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । यस क्रममा प्रहरीसँग झडप भएको छ । रास्वपाका कार्यकर्ताहरुले मंगलबार दिउँसो अदालततर्फ जाने क्रममा सडकमै प्रदर्शन गरेका थिए ।
सोही क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । लामिछानेलाई गत असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगेपछि नै रास्वपाका कार्यकर्ताहरुले पोखरामा प्रदर्शन गरिरहेका छन् ।
लामिछाने पक्राउ परेको केही दिनसम्म रास्वपाका कार्यकर्ताले व्यापक प्रदर्शन गरे पनि दशैंपछि प्रदर्शन मन्द बन्दै गएको छ ।तर यसअघि उनीहरुले लामिछानेको रिहाइको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन गरेका थिए ।