ओलीलाई देउवाको सुझाव- ‘प्रजातन्त्रमा आलोचना स्वभाविक हो, नडराउनू’



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई आलोचनाबाट नडराउन सुझाव दिएका छन् ।

प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक भएको भन्दै उनले आलोचनाबाट नडराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

शनिबार नेपाली कांग्रेसले भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् । अरु पार्टीहरुले अहिले सरकारको आलोचना गरेको तर प्रजातन्त्रमा यसलाई स्वभविक रुपमा लिन उनले सुझाव दिए ।

यस्तै संयुक्त सरकार बनेकोमा कांग्रेसका कार्यकर्ताहरुमाझ यसप्रति सकारात्मक धारणा रहेको उनको भनाइ थियो ।

‘अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छन्, त्यसलाई खराब मान्ने कुरा छैन’, सभापति देउवाले भने, ‘आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भए अहिलेको सरकारले ध्यान दिनेछ । प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो ।’

तर वस्तुपरक रुपमा तथ्यगत रुपमा आलोचना समाधानका लागि प्रधानमन्त्रीलाई आफूले सहयोग गर्ने देउवाले बताएका थिए । साथै कांग्रेसका कार्यकर्ताले यो सरकारलाई सफल बनाउन चाहिरहेको पनि उनले बताए ।

साथै गठबन्धनमा कुनै समस्या आए त्यसको समाधान गर्न कांग्रेस तयार रहेको पनि उनको भनाइ थियो । ‘समस्याविहीन समाज छैन, समस्याविहीन ठाउँ छैन । समस्या समाधान गर्न हामीहरु लाग्नुपर्छ । हाम्रो पार्टीबाट त्यसका लागि कुनै पनि अवरोध हुने छैन,’ सभापति देउवाले भने ।


क्लिकमान्डु