रवि पत्नी निकिता उपाध्यक्ष रहेको साई स्वागत सहकारी गाभ्ने डिपी अर्यालको योजना अधुरै !
काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थालाई एकीकरण गर्न रास्वपा उपसभापति डोलप्रसाद (डिपी) अर्यालको योजना अधुरै रहेको पाइएको छ ।
देशभर कार्यक्षेत्र रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था र साई स्वागत सहकारी संस्था एकीकरण भएर केही समय एकीकृत कारोबार समेत गरेका थिए ।
नियामक निकाय काठमाडौं महानगरपालिकाको सहकारी विभाग र संघीय सहकारी विभागबाट अनुमति नलिएका कारण एकीकरण सफल हुन नसकेको महानगरपालिकाको सहकारी विभागले गरेको अनुगमनमा पाइएको हो ।
क्लिकमान्डुलाई प्राप्त प्रतिवेदन रिपोर्ट अनुसार मर्जरका लागि साई स्वागत सहकारीले संस्थाका सचिवको नेतृत्वमा कार्यदलसमेत बनाएको उल्लेख छ ।
‘संस्था एकीकरण सम्बन्धी २०७७/०९/२५ गतेको साधारण सभाबाट नेपाल राज्यभर कार्यक्षेत्र रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था लिसँग गाभ्ने सम्बन्धमा संस्थाका सचिवको नेतृत्वमा कार्यदल गठन गरेको देखिएको तर नियामक निकायसँग संस्था एकीकरण सम्बन्धमा पूर्वस्वीकृत नलिएको हुँदा संस्था एकीकरण भई कारोबार गरी फेरि छुट्टाछुट्टै कारोबार गरेको भनेता पनि सोसँग सम्बन्धित कागजात उपलब्ध नगराएकाले एकिन गर्न सकिएन’ महानगरले अनुगमनपछि तयार परेको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं महानगरपालिको सहकारी विभागले २०८० चैत २३ गते उक्त सहकारीमा अनुगमन गरेको थियो ।
२०७७ साउन २७ गते बसेको हाम्रो नयाँ कृषि सहकारी संस्थाको नवौं साधारणसभाले सूर्यबहादुर गुरुङको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको थियो । उक्त समितिको उपाध्यक्षमा डिपी अर्याल, सचिवमा उत्तम अधिकारी, कोषाध्यक्ष जनक गौतम चयन भएका थिए । सञ्चालकमा कृष्ण कुमार न्यौपाने, कविन्द्र बुर्लाकोटी र सर्मिला तामाङ रहेका थिए ।
अर्याल सहकारीको उपाध्यक्ष बनेदेखि नै साई स्वागत सहकारीलाई मर्ज गर्न खोजिएको थियो । नियामक निकायको अनुमति नलिएका कारण मर्ज नभएको महानगरको अध्ययनले देखाएको छ ।
हाम्रो नयाँ कृषि सहकारी संस्थामा ४ वर्षका लागि सूर्यबहादुर गुरुङको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको भए पनि कार्यकाल नसकी २०७९ असोज २२ गते साधारणसभा बोलाउन लगाएर संस्था गितेन्द्र (जिबी) राईलाई बुझाइएको थियो ।
२०७९ असोज २२ गते बसेको संस्थाको १०औं साधारणसभाबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई २०८० माघ १४ गते समस्याग्रस्त घोषणा गरेको थियो ।
यता साई स्वागत सहकारीले सन्दर्भ व्याजदरभन्दा बढी अधिकतम २२ प्रतिशतसम्म ब्याज लिएको देखिएको महानगरको अध्ययनका क्रममा देखिएको रिपोर्टमा उल्लेख छ ।
यस्तै सहकारीले ३ प्रतिशतसम्म सेवा शुल्क लिएको देखिएको छ । महानगरको सहकारी विभागले नियम विपरित लिएको सेवा शुल्क सदस्यलाई फिर्ता गर्न सुझाव दिएको छ ।