जलवायुसम्बन्धी मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छः प्रधानमन्त्री ओली
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन्।
शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्व सन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन्।
उनले जलवायु परिवर्तन सम्बन्धी छुट्टै मन्त्रालय नभएर जलवायुजन्य क्षेत्रमा काम हुन नसकेको भन्ने नभइ मन्त्रालय नहुँदा पनि सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले कोप २९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताए। नेपालले जलवायुजन्य अन्तर्राष्ट्रिय फोरमहरुमा ‘क्लाइमेट इस्युज’ हरुमा नेतृत्व गर्ने गरेको उनले बताए।
उनले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भुगोल भएको बताए। जलवायु वित्त, जलवायुन्यायका विषयमा अहिले नेपालले खरो रुपमा आवाज उठाइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।
उनले भने, ‘आज हामी खास गरी कोप २९ को तयारीका सन्दर्भमा नेपालको त्यहाँ पोजिसन, हाम्रो अडान, दृष्टिकोण के हुने भन्ने विषयमा छलफल गरिरहेका छौँ। मैले विश्वास लिएको छु, यस सम्मेलनले यी विषयहरु उपयुक्त र पर्याप्त जवाफ निकाल्छ। यसै पनि वन तथा वातावरण सचिवजीले नाम त हामीले जलवायु वातावरण मन्त्रालय पनि थप्ने भनेका छौं। नेपालले अन्तर्राष्ट्रिय फोरमहरुमा क्लाइमेट इस्युजमा लिड गर्ने गरेको छ । सबैभन्दा बढी सरोकारवाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्नसक्ने भुगोल यही हो ।’
प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा जलवायु परिवर्तनको ठूलो असर परेको महशुस गरेको बताए। जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षारोपणको अभियान शुरु गरेको र संघ सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता उनले जनाए।
जलवायु परिवर्तनका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।