काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु, रास्वपा र राजावादी समूहको पनि प्रदर्शन, यातायात प्रभावित



काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गर्ने भनेको खबरदारी सभा पूर्व खबरदारी जुलुस निकालेको छ ।

भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा उक्त जुलुस निकालिएको हो । जुलुस सुनधाराबाट सुरु भएर रत्नपार्क, बागबजारहुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुँदैछ । उक्त सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

विरोध प्रदर्शनका कारण सडक यातायात प्रभावित भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहअगाडिको सडकमा मञ्च बनाएका कारण उक्त सडक खण्डमा सवारी निषेध गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सुनधारा, रत्नपार्क, बागबजार, पुतली सडक क्षेत्रमा पनि सडक जुलुसका कारण यातायात प्रभावित भएको छ । जुलुस रहँदासम्म यी सडकमा यातायात अवरुद्ध हुने कार्यालयले जनाएको छ ।

विरोध प्रदर्शनमा ३० हजार हाराहारी कार्यकर्ता सहभागी हुने माओवादी केन्द्रले दाबी गरेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको सभापति रवि लामिछानेलाई सरकारले फसाएको भन्दै थुनामुक्त माग गर्दै तीनकुनेमा विरोध प्रदर्शन गर्दै छ ।

उता राजावादी समूह शाही युवा शक्तिले पूर्वाराजा ज्ञानेन्द्रको पुर्नवहालीको माग गर्दै गोगंवु बसपार्कदेखि नारायणहिटीसम्म विरोध प्रदर्शन गर्दै छ ।

माओवादी केन्द्रले १० बुँदे एजेन्डासहित शनिबार प्रदर्शन र खबरदारी सभाको आयोजना गरेको छ ।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारी सभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेको षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेन्डा छ ।

ठुला भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण लगायत सार्वजनिक संस्थाहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थानको बिक्री तयारीविरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शिक्षण संस्थाहरू र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्यको दबाब दिनुलाई खबरदारी सभाको एजेन्डा राखिएको माओवादी केन्द्रले जनाएको छ ।


क्लिकमान्डु