बीमालाई बाध्यकारी बनाउने कानूनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छौं: अध्यक्ष सिलवाल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् ।

नेपाल बीमा प्राधिकरणले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आफू सात प्रदेशका विभिन्न क्षेत्रहरुमा पुगेको र त्यस क्रममा कमजोर आर्थिक अवस्था र आवश्यकता नदेखेका कारण बीमा नगरेको जानकारी पाएको बताए ।

अहिले प्राधिकरणले सरकारसँग बीमा गर्न बाध्य बनाउने गरी कानूनी प्रबन्ध गर्न दबाब दिइरहेको पनि उनको भनाइ थियो । नीतिबाट बीमाका लागि बाध्य बनाउनसके त्यसको फाइदा विमित स्वयंले पाउने भन्दै सिलवालले समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसीआइआइ २०२४)आजबाट काठमाडौंमा सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २० औं संस्करण आयोजना गरिएको बताइएको छ ।

‘म सातै प्रदेशको क्षेत्रमा पुगेको छु । बीमा भन्ने कुरा सुनेको छ । बीमा उसले गरेको छैन । यसका दुई कारण छन् । मसँग छ तर म गर्दिनँ । किनभने मलाई वाइयात लाग्छ एउटा कारण । अर्को मलाई गर्नु चाहीँ छ तर मसँग पैसा छैन । त्यसकारण हामीले अहिले सरकारसँग लभिङ गरिरहेको कुरा भनेकै बीमा गर्न बाध्य बनाउनु पर्‍यो । उसलाई बीमा गर्न बाध्य बनाउनुको मतलव पोलिसीबाट उसलाई बाध्य बनायौँ तर फाइदा उसले नै पाउने हो । बाध्य बनाउने पाटोमा हालको लागि हामीले जानुपर्छ,’ अध्यक्ष सिलवालले भने ।


क्लिकमान्डु