सुनको मूल्यमा फेरि रेकर्ड, कतिमा भइरहेछ कारोबार ?



काठमाडौं । सुनको मूल्य हरेक दिन वृद्धि भइरहेको छ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो । दसैंपछि नेपाली बजारमा सुनको मूल्य हरेक दिन वृद्धि भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेकोमा मंगलबार ३ सय रुपैयाँले बढेर तोलाकै १ लाख ६५ हजार ९ सय पुगेको हो ।

गत असोज २३ गते सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दसैं बिदा सकिएपछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड कायम भएको छ।

असोज ३० गते १ लाख ६१ हजार ८ सय, कात्तिक १ गते १ लाख ६२ हजार ४ सय, कात्तिक २ गते १ लाख ६४ हजार ४ सय र कात्तिक ४ गते १ लाख ६५ हजार रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।

यसैगरी चाँदी पनि अहिलेसम्मकै महँगो भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको थियो भने अघिल्लो दिन आइतबार चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ थियो ।


क्लिकमान्डु