निर्यातमा अनुदानकाे व्यवस्था यथाशिघ्र दिन व्यवसायीकाे माग, अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र




काठमाडौं । निर्यात अनुदानको व्यवस्था यथाशिघ्र गरिदिन निर्यात व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । फेडेरेसन अफ नेपाल एक्सपोर्टस एसोसिएशनले मंगलबार अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र दिएरै निर्यात अनुदानको व्यवस्था गर्न माग गरेका हुन् ।

एसोसिएसनले मुलुकमा व्यापार घाटा बढी रहेको सन्दर्भमा आयात प्रतिस्थापन तथा निर्यात अभिवृधिको लागि राज्यले लिएको सम्बृद्धिको उदेश्य अनुरुप यस एसोसिएशनले आफ्ना सदस्य उद्योगको हितको लागि सरकार तथा सम्बन्धित निकायमा पहल कदमी गरिरहेको व्यहोरा बिनम्र अनुरोध गरेको अर्थमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ ।

नेपाल सरकारले गत आर्थिक बर्ष हरुका बजेटमा व्यवस्था गरे बमोजिम कार्यविधिमा उल्लेखित प्रावधान अनुसार निर्यात गर्ने उद्योगहरु स्वयंले निर्यात अनुदानका लागि मन्त्रालयमा पटकपटक अनुरोध गरिरहेको जानकारी पनि एसोसिएसनले मन्त्रीलाई गराएको छ । तर सरकारले यसका सम्बन्धमा विभिन्न कारण र परिस्थिति देखाउँदै आर्थिक वर्ष २०७९/२०८० देखि नै निर्यात अनुदान नपाएको गुनासो व्यवसायीको छ । अन्य मुलुकहरुले उद्योग कलकारखानालाई राज्यले प्राथमिकताका साथ निर्यातमा उल्लेख्य अनुदान तथा सुविधा प्रदान गरिरहेको स्मरण पनि एसोसिएसनले गराएको छ ।

सरकारले बजेटमानै निर्यात अनुदानको प्राबधान गरेकोले सो बाट प्रोत्साहित हुँदै देशका उद्योग कलकारखाना हरुले आफ्नो उत्पदान विश्व बजारमा प्रतिस्पर्धी बनाउन पनि निर्यात अनुदान आवश्यक भएको उद्योगी व्यवसायीको भनाइ छ । चर्को ब्याजको पुँजी संकलन गर्दै उच्च स्तरीय प्रबिधिको प्रयोग गरि गुणस्तरीय माल बस्तु उत्पादन गरि प्रतिकुल परिस्थितिको बाबजुत पनि बस्तु निर्यात गर्न सक्षम भएका व्यवसायीको प्रोत्साहनको लागि यस्तो अनुदान माग गरेको उल्लेख छ ।

अनुदान नपाउदा उद्योग संचालनमा ठूलो मर्का पर्न गएको र यसबाट स्वदेशी कच्चा पदार्थ प्रयोग गरि निर्यात गर्ने कृषिजन्य उद्योग, धागो तथा गार्मेन्ट जस्ता धेरै रोजगारी सृजना गर्ने उद्योग कलकारखामा अत्यधिक लागतबृद्धि भएको कारणले हतोत्साहित भएर रुग्ण हुने स्थितिमा पुगेका पनि निर्यात व्यवसायीको भनाइ छ ।

देशको आर्थिक मेरुदण्डको रुपमा रहेका यस्ता निर्यात मुलक उद्योग हरुको लगानी सुरक्षा तथा रुग्ण हुन नदिन अर्थमन्त्रीमार्फत नेपाल सरकार समक्ष निर्यात जन्य उद्योगहरुले निर्यातमा गरेको उल्लेख्य कसरतको कदर गरि भविष्यमा हुने निर्यात तथा उत्पादनमा ह्रास आउन नदिन ध्यानाकर्षण गराउदै यथाशिघ्र बाँकि निर्यात अनुदानको रकमको निकासा गर्न पनि फेडेरेसन अफ नेपाल एक्सपोर्टस एसोसिएशनका अध्यक्ष पवनकुमार गोल्याणले लेखेको पत्रमा उल्लेख छ ।


क्लिकमान्डु