घर आँगनमै आन्तरिक पर्यटक, घुमघाम संस्कृतिले निःशुल्क प्रवर्द्धन



काठमाडौं । दशैंको माहोलसँगै विदेशी पर्यटकको नेपाल आगमन सिजन भएकोले यो बेला आन्तरिक पर्यटकीय क्षेत्रमा रौनक हुने बेला पनि हो ।

दशैं आसपासमा मौसम सफा हुनेगर्छ । जाडो लागिनकेको हुँदा यो मौसमलाई घुमघाममा जानु पनि उपयुक्त मानिन्छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले पनि आन्तरिक पर्यटकको गतिविधि बढ्दै गएको छ । आन्तरिक पर्यटक एक ठाउँबाट अर्को ठाउँमा पुग्ने, घुमघाम, खानपिन र किनमेल गर्नेसम्मको गतिविधिमा नेपालीले समय व्यथित गर्ने गरेका छन् ।
नेपालमा सन् २०११ मा सरकारले नेपाल भ्रमण वर्ष मनाउँदा आन्तरिक पर्यटकीय क्षेत्र चलायमान बनाउने र घुमघाम संस्कृतिलाई प्रवद्र्धन गर्न घरवास (होमस्टे) को अवधारणा ल्याएको थियो ।

नेपालका गाउँगाउँले रुचाएको, अतिरिक्त आम्दानीको स्रोत हुने हुँदा छोटो समयमा स्थापित भएको पर्यटनको एउटा विधा हो होमस्टे । यही होमस्टे संस्कृतिका कारण घर आगमनमै आन्तरिक पर्यटक पुग्ने र घुमघामको संस्कृति निःशुल्क प्रवद्र्धन पनि हुने गरेको छ ।

नेपाल पर्यटन बोर्डले पनि नेपालमा विदेशी पर्यटक आकर्षित गर्न वार्षिक करोडौं रुपैयाँ खर्च गरिरहेको हुन्छ । तर, आन्तरिक पर्यटन प्रवद्र्धन भने अन्तर्राष्ट्रिय जस्तो प्राथमिकतामा नपर्ने भएपनि पर्यटन बोर्डले बनाउने वार्षिक कार्यक्रमार्फत हुने औपचारिक कार्यक्रमबाट आन्तरिक पर्यटन भइरहेको छ ।

नेपाल पर्यटन बोर्डका बजार प्रवद्र्धन विभाग प्रमुख लक्ष्मण गौतम आन्तरिक पर्यटकलाई पनि प्रवद्र्धन गरिरहेको बताउँछन् । उनले भने ‘बोर्डको काम अन्तर्राष्ट्रिय प्रवद्र्धनसँगै आन्तरिक पर्यटन पनि प्रवद्र्धन गर्ने हो । यसका लागि बोर्डले विभिन्न मेला, महोत्सव, पर्यटन प्रवद्र्धनको काम गरिरहेको छ ।’ पर्यटन प्रवद्र्धन गर्न बोर्डले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरिरहेको हुन्छ ।

बोर्डले आन्तरिक पर्यटनलाई नै महत्व दिएर विभिन्न कार्यक्रम गर्ने गरेको छ । त्यसको प्रभावकै कारण आन्तरिक पर्यटकीय क्षेत्रमा रौनक बढ्ने गरेको बुझाइ गौतमको छ । पछिल्लो समय सामाजिक सञ्जालमा हेरेर पर्यटक घुम्न जानेदेखि सामाजिक सञ्जालको कन्टेन्टका लागि पनि आन्तरिक पर्यटकको घुमघाम दशैं पछाडि बढ्ने गरेको छ । पछिल्लो समय काठमाडौं वरपरका गन्तव्यदेखि प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवन, नगरकोटलगायतका क्षेत्रका होटल तथा रेस्टुरेन्टमा दशैंदेखि नै आन्तरिक पर्यटक बढ्ने गरेका छन् ।

उपत्यका वरपरका होमस्टेमा चाप बढ्यो

दशैंकै मुखैमा आएको बाढी पहिरोले स्थलमार्ग अधिकांश स्थानमा बिग्रिएको छ । स्थालमार्गबाट यात्रा गर्न यसपालिको दशैंलाई असहज भएकोले दशैं घुमघाम उपत्यका वरिपरिकै होमस्टेमा हुन थालेको छ । होमस्टे महासंघका कोषाध्यक्ष सुरज बास्तोला काठमाडौं उपत्यका छोडेर बाहिर जान यसपटक जटिल भएकोले वरिपरिकै होमस्टेमा आन्तरिक पर्यटकको चाप बढेको बताउँछन् ।

विदेशी पर्यटकका लागि सिजन हुने भएपनि आन्तरिक पर्यटक भने बाहैै्र महिना घुम्न रुचाउँछन् । पछिल्लो समय स्थानीय सरकारको पनि बढी चासो होमस्टेमा छ । होमस्टेका लागि आवश्यक पूर्वाधार बनाइदिन सहयोग गर्ने काम स्थानीय सरकारले गरिरहेका छन् ।

घर आँगनमै पर्यटक आउने र आम्दानीको स्रोत पनि हुने भएकोले होमस्टेप्रति रुची बढेको छ । बास्तोला भन्छन्, ‘आन्तरिक पर्यटक जुनसुकै महिना पनि आइपुग्ने र विदेशी पर्यटक पनि नियमित आइरहनेभएकोले अतिरिक्त आम्दानीको स्रोत होमस्टे भएको छ ।’

होमस्टेलाई स्थानीय सरकारले २-५ लाख रुपैयाँ दिएर गर्ने सहयोग बाहेक केन्द्रीय सरकारले कार्यविधि बनाइदिएको छ । सोही कार्यविधिमा आधारित भएर होमस्टे चलिरहेको पनि उनले बताए ।


राजु बास्कोटा