हर्क साम्पाङले उपमेयरको सट्टा वडाध्यक्षलाई दिए कार्यवाहकको जिम्मेवारी



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो अनुपस्थितिमा उपमेयरको सट्टा वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

केही दिनका लागि बेलायत जान लागेका साम्पाङले उपमेयर अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिनुपर्नेमा ११ नम्बर वडाका अध्यक्ष लोकेन्द्र कुमार फागुलाई जिम्मेवारी दिएका हुन् । उपमेयर बेघा भने माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

तर पछिल्लो समय उपमेयर बेघासँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले उपमेयरलाई जिम्मेवारी दिने गरेका छैनन् । अक्टोबर १७ मा बेलायतमा रहेका नेपालीहरुको निम्तोमा बेलायत जान लागेका उनले वडाध्यक्षलाई जिम्मेवारीको पत्र पठाउँदै जिम्मेवारी दिएका हुन् ।

जिम्मेवारीपत्रमा उनले के निर्णय नगर्ने भनेर बुँदागत रुपमै लेखेका पनि छन् । कतिपय महत्त्वपूर्ण विषयमा निर्णय नगर्न उनले वडाध्यक्षलाई सर्तहरु उल्लेख गरेका छन् । कार्यपालिका बैठक बोलाउन नपाउने, दलहरुले तोडफोड गरेको गेट र बोर्ड मर्मत नगर्ने लगायतका सर्त उनले जिम्मेवारीपत्रमा उल्लेख गरेका छन् ।

मेयर साम्पाङले एकलौटी निर्णय गर्नखोज्दा कार्यपालिका बैठकमै उपमेयरसहित वडाध्यक्षहरुसँग चर्को विवाद हुने गरेको छ । कतिपय सामाजिक सञ्जालमा हुने विवादमा उनले साम्प्रदायिकता तथा जातिका विषय उठाएर पनि आरोप लगाउने गरेका हुन्छन् ।


क्लिकमान्डु