सरकारी जागिरमा छँदा १३ घण्टा काम गर्थे रामेश्वर खनाल, खाना चाहीँ घरकै खान्थे



काठमाडौं । पूर्वसचिव रामेश्वर खनाललाई अहिले दशैं भनेर खासै उत्साह जाग्दैन । बाल्यकालमा चाहीँ खर्च टार्न पैसा पाइन्छ, मासु खान पाइन्छ र नयाँ कपडा लगाउन पाइन्छ भन्ने आश हुन्थ्यो ।

पाल्पामा जन्मेहुर्केका खनाललाई दशैं भन्नेवित्तीकै फिनी, झिनियाको याद आउँछ । त्यो भन्दा बढी दशैं मासुका लागि लाग्थ्यो । मासुबाहेकका परिकार अरु बेलामा पनि पाउने तर खसी काटेर खाने भने दशैंमा मात्र हुने भएकाले मासुकै लागि दशैं आउँथ्यो त्योबेला ।

‘नजिकैको बजारमा मासु पाइन्थ्यो तर किन्ने चलन थिएन,’ खनाल सुनाउँछन् । सुचीकारले नवमीको रातीसम्म पनि कपडा नसिलाईदिएर टीकाको दिन बिहानै गएर ल्याएर त्यही कपडा लगाएर टीका लगाएको सम्झना उनको छ ।

त्यतिबेला टीका लगाएर नोट होइन, दक्षिणाको रुपमा सिक्का पाइन्थ्यो । सुकाभन्दा बढी दक्षिणा पाइन्नथ्यो । ‘बीकमको अन्तिम वर्षमा पढ्दा सबैभन्दा बढी दक्षिणा कुल ९ रुपैयाँ २५ पैसा पाएको थिएँ,’ उनले सम्झना गरे । दक्षिणाकै लोभमा घरमा टीका लगाएको आधाघण्टामा मावल र बुढामावल पुग्थे उनी ।

विद्यालयको पोशाक नच्यातिएसम्म नफेरिने गरेको अभुवन सुनाउँदै उनले भने, ‘कतिपय वर्ष विद्यालयको पोशाक र दशैंको लुगा एउटै हुन्थ्यो । धेरै जसो दशैंमा निलो पाइन्ट नै सिलाइन्थ्यो ।’

खनाल परिवारमा दशैंमा ठूलो खसी काटिन्थ्यो, पूर्णिमाको भोलिपल्टसम्म मासु रहन्थ्यो । ‘२–३ दिनदेखि घ्यु र बोसोमा जमेको तेलमा तैरिएको मासु निकै स्वादिलो हुन्थ्यो,’ उनले भने ।

पूर्व अर्थसचिव खनाल घरमा बाहेक बाहिर खाँदैनन् । विदेश जाँदा नेपालमा नपाउने सिफुड आदि खान मन लाग्छ उनलाई । उनलाई चाइनिज र इटलियन खाना मन पर्छ । ‘बाहिर जाँदा स्पागेटी बढी खान्छु,’ उनले भने ।

अचेल किचेनमा पसेर पकाउन अघि सर्दैनन् । विवाह गर्नु अघि पेटलाई पाल्न खाना पकाउँथे । मासु फ्राइ चैं खुबै मिठो तरिकाले पकाउन आउँछ उनलाई । अचेल एक्लै बस्नुपर्दा नपकाउने खाना खान्छन् । ‘जस्तै दही, कर्नफ्लेक्स, फलफूल र नट्सहरु,’ उनले भने ।

सरकारी जागिर गर्दा १०–५ काम नगरेर १३ घण्टा काम गरेको उनी बताउँछन् । त्यसो गर्दा पनि खाना चाहीँ घरैमा खान्थे उनी ।

समयअनुसार कतिपय अप्रिय खाना प्रिय लाग्ने गरेको उनी बताउँछन् । ‘फर्सी, लौका, कुभिन्डो र कटहर भनेपछि मनै पर्दैनथ्यो, अहिले हरेक साँझ फर्सी, कुभिन्डो वा लौका खान्छु । कटहर पनि खान्छु बेलाबेला,’ उनले भने ।

एकपल्ट शाकाहारीबाट मांशाहारी बनिसको परिस्थितिमा त्रिभुवन विश्वविद्यालयको क्याफेटेरियामा चिकेन नदिएको निहुँमा भनाभन सम्म गरेका थिए खनालले ।

प्रस्तुत छ, उनै खनालसँग क्लिकमान्डुका रोविन पौडेलले गरेको कुराकानीः


रोविन पौडेल