इजरायलमा हमासको आक्रमणको घाउ पुरिन बाँकी छ: पूर्वपरराष्ट्रमन्त्री साउद



काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणमा नेपाललाई पुगेको क्षतिको घाउ अझै पनि पुरिन बाँकी रहेको बताएका छन् ।

हमास आक्रमणको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार इजरायली दूतावासले काठमाडौंमा आयोजना गरेको समारोहमा पूर्वमन्त्री साउदले यस्तो बताएका हुन् ।

इजरायलमाथि हमासले गरेको आक्रमणमा परी ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

आक्रमणकै दिन हमासले अपहरण गरी बन्धक बनाएका कञ्चनपुरका विद्यार्थी विपिन जोशी अझै पनि बेपत्ता रहेको प्रसंग उल्लेख गर्दै साउदले आक्रमणको घाउ पुरिन बाँकी रहेको उल्लेख गरेका हुन् ।
२०८० असोज २१ गते इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोशीलाई भने हमास समूहले अपहरण गरी बन्धक बनाएको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको भए पनि अझैसम्म पनि उनलाई फर्काउन सकिएको छैन ।

आक्रमणमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । आक्रमणमा परी थुप्रै घाइते र अपाङ्ग भएका थिए । आक्रमणको समयमा इजरायलमा ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत पढ्न गएका १० नेपाली विद्यार्थीको मृत्युले नेपालले आफ्नो भविष्यका सम्भावनाहरू गुमाएको छ भने ती परिवारहरूले आफ्ना प्रिय सदस्यहरू गुमाएका छन् ।

नेपाल सरकारले हमास आक्रमणको कडा शब्दमा भर्त्सना गरेको थियो । त्यसबेला साउद नै परराष्ट्रमन्त्री थिए । उनी आफैं इजरायल पुगेर नेपालीहरूलाई उद्धार गरी ल्याएका थिए ।

‘यो भयावह घटनाको सामना गर्दै त्यतिबेला चुनौतीपूर्ण र पीडादायी अवस्थामा काम गर्नु परेको थियो । इजरायल सरकारको सहयोगमा नेपाली नागरिकहरूको सुरक्षित उद्धार र मृतकको शव नेपाल ल्याउन सकियो,’ पूर्वपरराष्ट्रमन्त्री साउदे भने, ‘घाइते विद्यार्थीहरूको इजरायलमै उपचार भएको थियो ।’


क्लिकमान्डु