बाढी पहिरो पीडितको राहतका लागि आइएमई ग्रुपले दियो प्रधानमन्त्री उद्धार कोषमा ५ करोड



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमई बैँक, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रकमको चेक हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरे । उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो ।

यसैगरी आजै नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख, एनएमबी बैँकका अध्यक्ष मनोज गोयलले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख हस्तान्तरण गरे । उक्त रकमसहित आजका मिति प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख भएको छ ।

सहयोग गर्ने सबै संस्थाहरुलाई प्रधानमन्त्री ओलीले सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताए ।


क्लिकमान्डु