अमेरिकामा आँधीले १ सय २८ को मृत्यु, आपतकालीन फोन सेवाले पनि काम गरेन



एजेन्सी । अमेरिकाको क्यालिफोर्निया लगायत क्षेत्रमा आँधीले बितन्डा मच्चाउँदा त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । उत्तरी क्यालिफोर्निया राज्यले आपतकालीन अवस्थामा सहयोगका लागि फोन गर्ने टोल फ्री नम्बर ९११ मा पनि फोन नगर्न आग्रह गरेको छ ।

‘९११ नम्बरमा फोन नगर्नुहोला । बरु यदि तपाइँलाई सहायता चाहिएको छ भने आफ्नो स्थानीय स्वयंसेवक उद्धार विभागमा जानुहोला,’ स्थानीय सरकारले सूचना जारी गरेको छ । किनकि आपतकालीन सहायता फोनले पनि काम नगरेको भन्दै सरकारले यस्तो आग्रह गरेको हो ।

केही दिनदेखि क्यालिफोर्निया लगायत ६ वटा राज्यमा आएको हेलेन आँधीका कारण अमेरिकामा १ सय २८ जनाको मृत्यु भइसकेको छ । स्थानीय अधिकारीहरुका अनुसार मृत्युको यो संख्या अझै बढ्न सक्ने छ । यसबीचमा थुप्रै मानिसहरु हराइरहेका छन् ।

सयौं सडकहरु भत्किएर आवतजावतमा कठिनाइ भइरहेको छ । विशेषगरी क्यारोलिना क्षेत्रका सडकहरु ध्वस्त भएका छन् । जसले गर्दा सामान ढुवानीमा पनि अवरोध भइरहेको छ । यस्तै २० लाख मानिसहरु विद्युत सेवाबाट वञ्चित बनेको बताइएको छ ।

एक सातादेखिको आँधीका काण क्षतिग्रस्त स्थानको अवस्था बुझ्न राष्ट्रपति जो बाइडेनले स्थलगत अवलोकन गरेका छन् । बाइडेनसँगै राष्ट्रपतिको उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले पनि क्षतिप्रति दुख व्यक्त गर्दै क्षतिको अवस्थाबारे जानकारी लिएका छन् ।


क्लिकमान्डु