
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत ‘मार्कचोक–भरतपुर’ खण्डको निर्माण कार्य सम्पन्न गरी परीक्षण प्रसारण सुरु गर्ने भएको छ ।
युरोपियन लगानी बैंकको ऋण सहयोग तथा नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको यस प्रसारण लाइनमा आगामी असार २३ गते मंगलबारदेखि २२० किलोभोल्ट (केभी) क्षमताको विद्युत प्रवाह गरी परीक्षण गरिने प्राधिकरणले जनाएको छ ।
तनहुँको मार्कचोकस्थित न्यु मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यु भरतपुर सबस्टेसनसम्मको यो प्रसारण लाइन डबल सर्किटको भए पनि हाललाई एउटा सर्किट मात्र चार्ज गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने योजना छ ।
प्रसारण लाइनमा उच्च भोल्टेजको विद्युत प्रवाह हुने भएकाले प्राधिकरणले सो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।
परीक्षणका क्रममा प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले संरचनालाई नछुन, टावरको वरिपरि नजान र गाईवस्तुहरूलाई टावर नजिक नछोड्न प्राधिकरणले सचेत गराएको छ । साथै, विद्युत संरचनामा राखिएका खतरा संकेतहरूको पूर्ण पालना गर्न र विशेषगरी बालबालिकाहरूलाई ती संरचनाहरूबाट टाढा राख्न समेत अभिभावकहरूमा अपिल गरिएको छ ।
यो प्रसारण लाइनले तनहुँको आँबुखैरेनी गाउँपालिका (वडा नं. २, ३, ४ र ५), गोरखाको गोरखा नगरपालिका (वडा नं. १४, याङ्कोट क्षेत्र) र चितवनको भरतपुर महानगरपालिका (वडा नं. २९, जुगेडी र चौकीडाँडा) तथा इच्छाकामना गाउँपालिका (वडा नं. ६, रिग्दीखोला क्षेत्र) लाई छुनेछ । परीक्षणका क्रममा कतै झिल्का (स्पार्क) आएमा वा अन्य कुनै जोखिमपूर्ण अवस्था देखिएमा तुरुन्त नजिकैको प्रहरी चौकी, विद्युत प्राधिकरणको कार्यालयमा जानकारी दिन प्राधिकरणले सर्वसाधारणमा अनुरोध गरेको छ ।






प्रतिक्रिया