पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ यात्रु घाइते



नुवाकोट । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा सोमबार माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह १ बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं. माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा ठूलोभीर भएपनि मौवाको रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो ।


क्लिकमान्डु