अदालतको अपहेलना मुद्दामा सिधाकुराका कार्यकारी सम्पादक ढुंगाना जेल चलान, आजैदेखि कैद भुक्तान सुरु



काठमाडौं । ‘सिधा कुरा’ डटकमका सम्पादक नवीन ढुंगानालाई ३ महिना कैद सजाय सुनाइएको छ । अदालतको अवहेलना मुद्दामा ढुंगानासहित सिधाकुराका सञ्चालक युवराज कँडेल दोषी ठहर भएका हुन् ।

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले उनीहरुलाई यस्तो सजाय तोकेको हो । सिधाकुराले गत वैशाख १४ गते सर्वोच्च अदालतका न्यायधीससमेतको संलग्नतामा फैसलामा सेटिङ हुने गरेको समाचार सम्प्रेषण गरेको थियो । सो समाचारले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका उपरजिस्ट्रार गोबिन्द घिमिरेले मानहानीको मुद्दा दर्ता गरेका थिए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालसहितको पूर्ण इजालसले सिधाकुराले अदालतको अवहेलना गरेको ठहर गरेको हो ।

सिधाकुराले ५ हजार रुपैयाँ जरिवाना तिरेर आफैँ क्षमयाचना गरेमा सजाय मिनाहा हुने फैसलामा उल्लेख छ । लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधाकुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख छ ।

फैसलामा भनिएको छ , ‘प्रत्यर्थीमध्येका नवीन ढुंगाना र युवराज कँडेलका हकमा उल्लिखित सामग्री निजहरूले आफैँ उत्पादन गरेको नभई अर्का प्रत्यर्थी राजकुमार तिमिल्सिनाले उत्पादन गरी ल्याइदिएको तर निजहरुले उक्त सामग्रीको सत्यापन परीक्षण गर्नुपर्ने आमसञ्चारमा संलग्न जो सुकै व्यक्तिले अनिवार्य रुपमा गर्नुपर्ने न्यूनतम प्रक्रिया समेत पूरा नगरी आफ्नो सञ्चारमाध्यममा पटक–पटक उक्त सामग्री प्रकाशन गरी अदालतप्रति भ्रम फैलाउने र अनास्था पैदा गर्ने कार्य गरेको एवम् उक्त कार्यलाई केबल लापरवाही वा हेलचेक्राई मात्र मान्न सकिने स्थिति नभई यस अदालत, अदालतका न्यायाधीश र समग्र न्यायिक प्रकृयाका बारेमा अफवाह फैलाई न्यायसम्पादन गर्ने कार्यमा अवरोध श्रृजना गर्ने बदनियतले नै गरेको पुष्टि भएकाले निजहरूको उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम निजहरुलाई जनही ३ (तीन) महिना कैद सजाय हुने ठहर्छ ।’

यसैबीच सिधाकुराका सम्पादक नवीन ढुंगानाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै आफू र प्रकाशक युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको जानकारी गराएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पाठक र स्रोताहरू हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ। समाचारको धर्मबाट कहिल्यौ बिचलित हुने छैनौं ।’

सिधा कुरा अनलाइनको हकमा ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुनेछ ।


क्लिकमान्डु