बाढीपहिरो पीडितलाई कांग्रेसको ५० लाख सहयोग
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका पीडित परिवारहरुको राहत तथा उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको भएको छ ।
यसका लागि कांग्रेसका सबै सांसदहरुले १५ दिनको तलब उपलब्ध गराउने भएका हुन् । विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजी तीब्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।
यस्तै कांग्रेसले पार्टीको भ्रातृ, शुभेच्छुक संगठन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन पनि निर्देशन दिएको छ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरुमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न जोड दिइएको छ । विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रुपमा व्यवस्थापन गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।
यससँगै कांग्रेसले बाढीपहिरो तथा डुबानमा मृत्यु भएका र बेपत्ता भएकाहरुप्रति दुख व्यक्त गर्दै राहत तथा पुरनर्संरचनाका लागि सरकारलाई आग्रह गरेको छ । पार्टीको विज्ञप्तिमा भनिएको छ, ‘निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको छ । वागमती प्रदेशमा अत्यन्त ज्यादा प्रभाव पारेको छ । यस सम्बन्धमा पनि पार्टीले महत्वपूर्ण निर्णय गरेको छ । अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिन यता सय भन्दा बढीको मृत्यु भएको, सयौँ बेपत्ता र सयौँ घाइते भएको, घटनाले यतिबेला समस्त नेपालीलाई मर्माहत बनाएको छ । यो समग्र घटनाप्रति नेपाली कांग्रेस पार्टी गहिरो दुःख व्यक्त गर्दछ ।’
यस्तै बेपत्ताको खोजी र घाइते भएकाहरुको उपचार चाँडै गराउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । यसका लागि पार्टीले भ्रातृ संगठनहरुलाई पनि निर्देशन दिएको छ । ‘दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरु जति पनि क्षति भएको छ त्यसको यथार्थ मूल्यांकन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न क्रियाशिल हुन जोड दिएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।